Pura Samachar

संकटा क्लब काठमाडौंअन्तिम चारमा

प्रकाशित: March 8, 2022
पूरा समाचार

संकटा क्लब काठमाडौंअन्तिम चारमा

ए डिभिजन टोली संकटा क्लब काठमाडौं नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार अर्को ए डिभिजन टोली थ्री स्टार क्लबलाई २–० ले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।

संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५ औं मिनेटमा पेनाल्टी बक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोष्टको दिशा पायो । पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ६३ औं मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे ।

खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न सकेन । खेलको दोस्रो मिनेटमा रितिक खड्काले पेनाल्टी बक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए । ३६ औं मिनेटमा संकटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरियो ।

४६ औं मिनेटमा थ्री स्टारका रितिक खड्काले डिएरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे । खेलको ७० औैं मिनेटमा संकटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले बचाउ गरे । ७५ औं मिनेटमा थ्री स्टारका सञ्जोक राईले गरेको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए ।

मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की भए । उनले ९ हजार ९ सय ९९ रुपैयाँ पाए । थ्री स्टारका प्रशिक्षक रविन्द्र सिलाकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताए । त्यस्तै, विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको बताए । उनले संकटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको बताए ।

बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुने आयोजकका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । आयोजकले मंगलबार अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथिहरु महिलाहरु मात्र थिए ।

प्रतिक्रिया