
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज (बुधबार) राति स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) को आतिथ्यता गर्दैछ ।खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राती १ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगमा रहिरहन रियल म्याड्रिडलाई नतिजा उल्ट्याउनुपर्ने चुनौती रहेको छ । पहिलो लेगमा रियलले १–० को हार भोगेको थियो ।
सोही कारण रियल घरेलु मैदानमा समर्थकको साथमा पिएसजीलाई हराउँदै क्वाटरफाइनल पुग्ने दाउँमा हुनेछ । १–० को जितले अघिल्लो चरण पुग्ने सम्भावना रहँदा २–० को जितले रियल अघिल्लो चरणमा प्रवेश गर्नेछ । तर, स्टार खेलाडीले भरिएको पिएसजीविरुद्ध जित निकाल्न कठिन नै हुनेछ ।
टोलीसँग करिम बेन्जेमा, भिनिसियस जुनियर, लुका मोड्रिड, फेडे भाल्भेर्डे, डेभिड अलाबा, इडर मिलिसाओ, ड्यानी कार्भाजल, नाचो फर्नान्डेस, मार्काे एसेन्सियो र रोड्रिगोको साथ रहेको छ । चोटका कारण टोनी क्रुसले खेल्नेमा शंका रहँदा प्रतिबन्धका कारण क्यासमिरो र फर्लान्ड मेन्डी टोलीमा हुनेछैनन् ।
यता, पिएसजी पनि घरेलु टोली रियललाई स्तब्ध पार्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । पिएसजीलाई बराबरी नै अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ । पिएसजीले पहिलो लेगमा १–० को जित निकाल्न सफल भएको थियो । तर, पिएसजी जित निकाल्दै अघिल्लो चरण पुग्ने लक्ष्यमा मैदानमा उत्रनेछ ।
चोटका कारण युवा स्टार तथा अघिल्लो खेलमा गोल गरेका केलियन एमबाप्पेले खेल्नेमा शंका रहेको छ । तर, टोलीसँग लियोनेल मेस्सी, नेयमार, एन्जल डि मारिया, मार्काे भेराट्टी, डानिलो पेरेइरा, इड्रिसा गाना गुआई, नुनो मेन्डेस, प्रेसनेल किमपेम्वे, मार्किन्हस, अचरफ हाकिमी र गोलरक्षक केलर नाभास रहेका छन् ।
चोटका कारण सर्जियो रामोस टोलीमा हुनेछैनन् । गोलरक्षकमा जियानलुइजी डोन्नररुम्मा पनि रहेका छन् । यि दुई टोलीबीचको पछिल्लो १० खेलमा रियलले ५ खेलमा विजयी भएका छन् । पिएसजीले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल बराबरीमा सकिएको छ ।
बुधबार राति १ः४५ बजे नै अर्काे प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लेगमा सिटीले ५–० को फराकिलो जित निकालेको छ ।
प्रतिक्रिया