
काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले पाँचौ सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा स्थान बनाएको छ । बुधबार सम्पन्न सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै मनाङ उपाधि भिडन्तमा पुगेको हो ।निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा मनाङका लागि अन्जन विष्ट, रुपेश केसी, माउसा अबगना र पुजन उपरकोटीले गोल गरे । शेर्पाका लागि उलरीच सिवे र पिस्टोन मुताम्बाले सुरुवाती दुई प्रहारमा गोल गरेपनि त्यसपछि विशाल श्रेष्ठ र विवेक पण्डितले गोल गर्न सकेनन् ।
त्यसअघि २८ औं मिनेटमा शिशिर लेखिले मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । ८० औं मिनेटमा सुरेश कुमालले गोल गर्दै शेर्पालाई बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । विहीबार दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लब र बागमती युवा क्लब सर्लाहीले प्रतिस्पर्धा गर्नेछन् ।

खेलपछि प्रतिक्रिया दिँदै मनाङका प्रशिक्षक राजेन्द्र तामाङले सेमिफाइनल जितेसँगै अब उपाधि जित्ने दावी गरे । ‘गेम एकदमै राम्रो भयो । खेलाडीहरुले अनुभव देखाए । पहिलो हाफमा केही गोल मिस भयो । केही गल्तीले गोल खान पुग्यौं । तर पनि खेल जित्यौ,’ उनले भने, ‘अब उपाधि जित्छौ । खेलाडीहरुले मैदान पनि चिनिसके । अर्को फाईनलिष्ट टीम पनि बलियो नै हुनेछ । यसपाली हामी उपाधि लिएर नै जाने हो ।’
शेर्पाका प्रशिक्षक युगलकिशोर राईले सोचेभन्दा राम्रो खेलेको तर पेनाल्टीमा भाग्यले साथ नदिएको बताए । ‘आजको खेल रोमाञ्चक रह्यो । हामीले कमब्याक गर्यौं । सोचेभन्दा राम्रो खेल्यौ । सुरुमा अमृत श्रेष्ठ र अन्त्यमा गोलरक्षक किशोर गिरी घाइते हुँदा गाह्रो भयो,’ प्रशिक्षक राईले भने, ‘प्रतिस्पर्धात्मक खेललाई पेनाल्टीसम्म पुर्यायौं । पेनाल्टीमा ५०-५० अवसर हो । त्यसमा उनीहरु सफल भए ।’
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र दोस्रो टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदीयमान खेलाडीले समान २५ हजार प्राप्त गर्नेछन् । फेयर प्ले टोलीले २५ हजार पाउने प्रतिायेगिताको हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया