Pura Samachar

च्याम्पियन्स लिग: म्यानचेस्टर सिटी र रियल म्याड्रिडकाे जित

प्रकाशित: March 10, 2022
पूरा समाचार

च्याम्पियन्स लिग: म्यानचेस्टर सिटी र  रियल म्याड्रिडकाे जित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा ५–० को जित निकाल्दै सिटीले अन्तिम आठको यात्रा तय गरेको हो ।

सिटीले पहिलो लेगमा ५–० को अवे जित निकालेको थियो । इतिहाद स्टेडियममा सिटीले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि गोल भने गर्न सकेन । २४औं मिनेटमा फिल फोडेनको प्रयासलाई स्पोर्टिङका गोलरक्षक एडानले विफल पारे । ३९औं मिनेटमा रहिम स्टर्लिङको प्रयासमा गोलरक्षक एडान नै बाधक बने ।

४७औं मिनेटमा गाब्रियल जेससले गोल गरेपनि भिएआरले मान्यता नपाउँदा सिटी अग्रता लिनबाट चुक्यो । जिनचेन्कोको क्रसमा रियाद महारेजको प्रयास ब्लक हुँदा जेससले जाली चुमाएपनि उनी अफसाइड ठहरिए । त्यसपछि स्पोर्टिङले सिटीको तुलनामा केही आक्रमण बुनेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।

यस्तै प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले कप्तान करिम बेन्जेमाको ह्याट्रिक प्रेरित खेलमा पछि परेको स्थिति उल्ट्याउँदै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि ३–१ को पूनरागमन जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । रियलले समग्रमा ३–२ को जित निकालेको हो । पहिलो लेगमा रियलले १–० को हार बेहोरेको थियो ।

प्रतिक्रिया