काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बिहान सचिवालय बैठक बस्दै छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको कार्यदललाई औपचारिकता दिन सोमबार बिहान साढे ९ बजे सचिवालय बैठक बस्न लागेको हो ।
पार्टी कमिटीको बैठक नबोलाई कार्यदल गठन गरिएपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारयाणकाजी श्रेष्ठले आपत्ति जनाएका थिए । उनीहरुले आपत्ति जनाएपछि ओली–प्रचण्डसहितका नेताको सहमतिमा कार्यदललाई औपचारिकता र कार्यदेश दिन सचिवालय बोलाइएको नेकपा स्रोतले जनाएको छ ।
यसअघि शनिबार अध्यक्ष प्रचण्डसँग खुमलटारमा भएको छलफलका क्रममा वरिष्ठ नेताद्वय नेपाल, खनाल र प्रवक्ता श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए । नेताहरूको माग मुताबिक नै सचिवालय बैठक बस्न लागेको हो ।
अध्यक्षद्वय ओली र प्रचण्डले गत शुक्रबार पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलमा नेताहरु भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुषाल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् ।
कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएलगत्तै प्रतिवेदनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी तयारी भइरहेको नेकपा स्रोतको भनाइ छ । “कार्यदलले प्रतिवेदन बुझाएसँगै अयोग्य र प्रभावकारी काम नदेखिएका मन्त्रीहरुलाई फेरिने गरी तयारी भइरहेको छ,” नेकपाका एक नेताले भनेका छन् ।
स्रोतका अनुसार दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गर्ने क्रममा ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने गरी पहिलो खाका बन्ने छ । त्यसपछि महाधिवेशन र मन्त्रिमण्डल पुनर्गठन तथा केही मुख्यमन्त्रीहरु फेरबदल गर्नेगरी कार्यदलले खाका तयार गर्ने स्रोतको दाबी छ ।
प्रतिक्रिया