Pura Samachar

बागमती युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै फ्रेन्ड्स उपाधि नजिक

प्रकाशित: March 10, 2022
पूरा समाचार

बागमती युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै फ्रेन्ड्स उपाधि नजिक

धनगढी । फ्रेन्ड्स क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।

फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजिब लोप्चनले एक एक गोल गरे ।

बागमतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए ।

खेलको ६४ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए ।

खेलको ७१ औं मिनेटमा राजिबले गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा जुनियरले गोल गरेपनि बागमती २-१ ले पराजित भयो ।

अब फ्रेन्ड्सले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।

पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ।

आयोजक सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।

प्रतिक्रिया