
एमसिसीको टुंगो लागे पनि केही दलहरू अझै यसको विरोधमा छन् । संसद्देखि बाहिरका पार्टीहरू नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन वैद्यदेखि सबै एमसिसीको विरोधमा छन् । एमसिसी संसद्बाट पास भए पनि कार्यान्वयनमा आउँछ कि आउँदैन त्यो नै महत्वपूर्ण विषय हो । नेत्रविक्रम चन्द विप्लवले त खुला मञ्चबाटै यो कार्यान्वयनमा आउन नसक्ने चेतावनी दिएका छन् । माओवादीभित्रैका नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणि पोखरेल, लीलामाणि पोखरेल, कृष्णबहादुर महरालगायत एमसिसीको विरोधमा छन् । आज एमसिसीको विषयले राजनीतिक दलहरू ध्रुवीकरण हुने खतरा देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनलाई मनाएर विवादास्पद एमसिसी संसद्बाट पास गराउन सफल भए ।
यही कारण राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनबाट बाहिरियो । संसद्मा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको एमालेले मौनतामात्र देखायो । आफैंले छलफलका लागि सदनमा दर्ता गराएको विधेयकको पक्ष वा विपक्षमा एक शब्द नबोलेर सदनमा नाराबाजीमात्र गरेर लोकको जग हँसायो तर त्यसको कुनै अर्थ थिएन । नेपालका कम्युनिष्ट पार्टीहरूमा एमसिसी अनुमोदनको प्रस्तावले कडा तरंग ल्याएकै हो । एमसिसीको पक्षमा न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, न त एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नै सहमत थिए । गठबन्धन टुट्ने संकेत देखेपछि उनीहरू पनि अन्ततः एमसिसी पास गराउने पक्षमा खडा भए ।
कम्युनिष्ट नेताहरूको विश्वास गर्नु हुँदैन भन्ने यसले प्रमाणित गरेको छ । प्रचण्ड र माधव एमसिसीको पक्षमा उभिएपछि राष्ट्रिय जनमोर्चाले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो । एकीकृत समाजवादीले एमसिसी स्वीकारेपछि पनि यस पार्टीका ‘सम्मानित’ नेता झलनाथ खनाल लगायतका नेताहरू एमसिसीविरुद्ध नै बोलिरहेका छन् । माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलगायत थुप्रै नेताहरू केन्द्रबाट निस्किने मनस्थितिमा पुगेका छन् । स्वयं प्रचण्डले श्रेष्ठलाई ‘असहमति छ भने पार्टी छाडेर गए हुन्छ’ भनेको समाचार पनि बाहिर आयो । प्रचण्ड भोलिपल्ट बिहानै नारायणकाजीलाई फकाउन उनको घरैमा पुगे तर अझै नारायणकाजी फकिएका छैनन् ।
आज एमसिसी सम्झौताले विभिन्न टुक्रामा विभाजित कम्युनिष्टलाई एकै ठाउँमा ल्याउने सम्भावना बढ्न थालेको देखिन्छ । अहिलेको परिस्थितिले साना कम्युनिष्टबीचको एकता हुने सम्भावना पनि देखिन्छ । राजनीतिक आवश्यकताले उनीहरूलाई एकै ठाउँमा ल्याउन पनि सक्छ । यता, कांग्रेस सभापति तथा गठबन्धन सरकारका प्रधानमन्त्री देउवा पनि अप्ठ्यारामै छन् । गठबन्धन कति लामो समयसम्म टिक्ला त्यो यसै भन्न सकिने अवस्था छैन । एमसिसीलाई नेपालको उत्तरी छिमेकी र विश्वको नयाँ सुपर पावर चीनले यथास्थितिमा स्वीकार गर्नेछ कि किचोलो निकाल्नेछ ? यसै भन्न सकिँदैन ।
देशमा स्थानीय, प्रादेशिक र संघीय चुनावको प्रारम्भ हुँदैछ । अविभाजित भएर जाने हो भने कम्युनिष्टको अवस्था त्यति मजबुत छैन, जति देखिएको छ । कार्यकर्तामा लोकतान्त्रिक आचरण छैन । समाजप्रति प्रतिबद्धता छैन । गुटबन्दी, भ्रष्ट आचरण र बेइमानी राजनीतिक संस्कारका रूपमा फैलिन थालेको छ । अहिलेको परिवेशमा कम्युनिष्टहरूले स्वाभाविक रूपमा चुनाव जित्न सक्दैनन् । राज्य संयन्त्रहरू बिचौलियाको हातमा परेका छन् । भ्रष्टाचारको त कुरै गर्नु परेन ।
नेकपा एमालेको स्पष्ट धारणा नआउँदै र नागरिकको देशभर विरोधका बीच सत्ता गठबन्धनका दलले अमेरिकी सहयोग परियोजना अनुमोदन गराएरै छाडे । जसको विरोधस्वरूप नेत्रविक्रम चन्द विप्लव समूहलगायत असन्तुष्ट दल र यसका कार्यकर्ता अनि नागरिक समाजले देशभर बन्दको आयोजना गरे । यता एमसिसीको बारेमा सदनमा बहस चल्दै गर्दा सदनबाहिर विरोधका नाराहरू गुञ्जिए । दलका नेतामाथि गालिगलौज भए । दलहरूले आफ्ना कार्यकर्तालाई र सरकारले नेपाली जनतालाई चित बुझ्दो जवाफ दिन सकिराखेका छैनन् । एमसिसी पास गर्ने दलहरूले साँच्चिकै बुझेरै अनुमोदन गरेका हुन कि नबुझेर त्यो त विस्तारै थाहा होला ।
नजिकिँदो स्थानीय चुनावमा जनताले परिणाम देखाइदिने छन् । निजी स्वार्थको भरमा एमसिसी अनुमोदन गरेको अवस्था देखिएमा पाँच दलीय गठबन्धनले समेत जनमत प्राप्त गर्न नसक्ने अवस्था आउँन सक्छ । सत्य लुक्दैन, झुटो टिक्दैन भनेजस्तै प्रत्येक पार्टी र नेतामा कसको के स्वार्थ रहेछ भन्ने कुरा इतिहासले बताउनेछ । नेपालको राजनीतिमा फेरि नेताले विवेक नपुर्याउने हो भने दुर्घटना हुने सम्भावित जोखिम बढेको छ । साँच्चिकै राजनीतिक दलले आफ्नै कार्यकर्तालाई विश्वास दिलाउन सकेका छैनन् ।
यस्तै अवस्थामा वाकयुद्व, शीतयुद्व हुँदै नेपाल अन्तर्राष्ट्रिय रणमैदान बन्न नसक्ला भन्न सकिँदैन । नेपालीको लोकतान्त्रिक राजनीतिलाई देशी-विदेशी शक्ति आफू अनुकूल प्रयोग गर्न आतुर छन् । सम्भावित घटनाको विषम परिस्थितिमा विज्ञको राय-सुझाव ग्रहण गर्न नसक्ने परिपाटी र राजनीतिक दलकै नेताको हालिमुहालीले पनि यो अवस्था निम्त्याएको हो । देशको विकास गर्ने हो भने नेपाललाई आत्मनिर्भर बनाउन सक्नुपर्छ । नेपालमा जल, जंगल र जडीबुटी छ तर त्यसको प्रयोगका लागि अन्तर्राष्ट्रिय दाताको सहयोग नलिने हो भने प्रयोग गर्न सक्ने अवस्था छैन ।
बेला–बेलामा नेपालले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अपनाउने अभिव्यक्ति दिँदै आए पनि विभिन्न प्रलोभनमा सहयोग र सम्झौता स्वीकार्न बाध्य पारिँदै आएको छ । नेताहरू सरकारमा जाने र पैसा कमाउनेबाहेक अरू सोचेको देखिँदैन । बेला-बेलामा नेपालको राजनीति अस्थिर हुँदै आएको छ । अस्थिर राजनीतिले नेपालको विकासलाई पछाडि धकेलिरहेको छ । अब मुलुकलाई देशको बारेमा सोच्ने नेताको खाँचो छ । देशको बारेमा सोच्ने नेता नै छैनन् यहाँ । नेताहरू आफ्नो दुनो सोझ्याउनतिर मात्रै ध्यान दिन्छन् । देश र जनताका लागि नेताहरूले केही गर्न सकेनन् ।
यदि दल र तिनका नेताहरूले राम्रो गरेका हुन्थ्ये भने जनताले नेताहरूलाई सम्मान गर्दथे । अब आगामी निर्वाचनमा नेताहरूले त्यसको गम्भीर परिणाम भोग्ने छन् । देशमा देखिएका तमाम समस्या समाधान गर्न दलहरू किन सक्दैनन् ? ठालु प्रवृत्ति र सरकारको गुणगान गाएर मुलुक बन्दैन । मुलुक बनाउन काम गर्नुपर्छ । मभन्दा ठूलो कोही छैन भन्ने गलत प्रवृत्तिले समस्या निम्तिएको छ । यसमा सुधार गर्नुपर्ने नितान्त आवश्यक छ । पछिल्लोपटक कुर्सीकै लागि गोप्य सम्झौता, फेरि त्यही सम्झौताको उपहास, सत्ताकै लागि सरकार ढलाउने र बनाउने खेल भइरहेको छ । अस्थिर सरकार हुँदा देश अनिर्णयको बन्दी भएको छ ।
सत्तालिप्साको फोहोरी राजनीतिले धमिलो पानीमा माछा मार्नेहरू सल्बलाएका छन् । कतै नेपाललार्ई अमेरिकाको उपनिवेश बनाउन त खोजिएको छैन ? भन्ने प्रश्न पनि उठेका छन् । दलका नेताहरूले आफ्ना आमकार्यकर्तालाई त्यसो गर्न खोजिएको छैन भनेर विश्वास दिलाउन सक्नुपर्छ । यति बेला एमसिसी नै चर्चाको विषय बनेको छ । जहाँसुकै अमेरिकी सहयोग सहायता र चीनको बिआरआईको मात्रै बहस हुने गरेको छ । गरिबीका कारण हाम्रो समाजलाई अर्काको सहारा लिएर बाँच्नुपर्ने अवस्था छ ।
त्यसैले दाताले स्वच्छ मनले सहयोग दिएको छ भने स्वीकार्नुपर्छ । स्वार्थ र सर्तमा कुनै पनि सहयोग स्वीकार्ने बानीको विकास गर्नु हुँदैन । नेपाल वीरताको देश हो । हामी स्वाभिमानी छौं र स्वाभिमानी रहनेछौं । आज समयले धैरै कोल्टो फेरिसकेको अवस्था छ । अब हामीले समयको गतिलाई बुझ्न सकेनौं भने भोलि पछुताउनुपर्ने छ । देशको भविष्य सोचेर काम गर्ने बेला आएको छ । विदेशी सहयोग अनुदानको विषयलाई लिएर नेता र कार्यकर्ताबीच द्वन्द्वको अवस्था सिर्जना भएको छ । अब हामी आत्मनिर्भर बन्न सिक्नुपर्छ ।
सधैं अर्काको मुख ताक्ने प्रवृत्तिले राम्रो गर्दैन । संसद्मा अनुमोदन भएको एमसिसी परियोजना सफल कार्यान्वयनका लागि सबैबाट मार्गप्रशस्त गरिनुपर्छ । एमसिसी संसद्बाट अनुमोदन भइसकेर पनि आमनागरिकबीच चर्चा कायम नै छ । उनीहरूमा शंकाको बादल हटेको छैन । यहाँका दल र कार्यकर्ता अनि नागरिकसमेत यस विषयमा अझै अलमलमा देखिन्छन् । संसद्बाटै अनुमोदन भइसकेपछि अब साँच्चै एमसिसीले नेपालको आर्थिक विकासको एजेण्डामा मूर्तरूप लिन सकोस् । महिना दिनसम्म एमाले अवरोधका कारण प्रतिनिधिसभाले गति लिन सकेको थिएन । संघीय संरचनालाई पूर्णता दिने विधेयक हालसम्म बन्न नसक्दा संघीय संरचना ढल्ने खतरा पनि उत्तिकै छ । राष्ट्रिय सरोकारका विषयमा हामी पूर्ण जानकार छौं तर पनि नेपाल परराष्ट्रका सम्बन्धमा विशेषज्ञ बन्न सकेन । यसलाई अनुसन्धानको विषय बनाउनुपर्दछ । देशको विकास सुशासन आजको आवश्यकता हो । हामी विकास चाहन्छौं तर विकासको नाममा आफ्नो स्वाभिमान बेच्न भने सकिँदैन । साभार हिमालय टाइम्स बाट
प्रतिक्रिया