Pura Samachar

खप्तड गोल्डकप फुटबल फाइनलमा: मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने

प्रकाशित: March 12, 2022
पूरा समाचार

खप्तड गोल्डकप फुटबल फाइनलमा:  मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने

धनगढी । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ ।

धनगढी रंगशालामा हुने फाइनलमा दुई ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल ३ बजेपछि सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि मैदान उत्रने बताएका छन् ।

विजेताले २१ लाख नगद प्राप्त गर्दा उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछन् ।

पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।

सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताकाे फाईनल खेल हेर्न २ सय रूपैयाँ टिकट दर राखिएको छ ।

प्रतिक्रिया