Pura Samachar

फ्रान्समा कोरोनाभाइरस विरुद्ध बृद्धबृद्धाहरुबाट चौथो खोप लगाउने अभियान सुरु

प्रकाशित: March 14, 2022
पूरा समाचार

फ्रान्समा कोरोनाभाइरस विरुद्ध बृद्धबृद्धाहरुबाट चौथो खोप लगाउने अभियान सुरु

प‍ेरिस- फ्रान्समा कोरोनाभाइरस विरुद्धको चौथो खोप लगाइने भएको छ। सरकारी अधिकारीहरुले सोमबारदेखि जेष्ठ नागरिकलाई खोप लगाउने तालिका बनाइएको जानकारी दिएका छन्।

पहिलो चरणमा ८० बर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुको भनाई छ। खोपको चौथो मात्रा लगाउनका लागि तेस्रो खोप अर्थात बुस्टर डोज खोप भने लगाइसकेको हुनु पर्ने सर्त राखिएको छ। शनिबार प्रकाशित एउटा अन्तर्वार्तामा प्रधानमन्त्री जेन कास्टेक्सले बृद्धबृद्धाहरुबाट चौथो खोप लगाउने अभियान सुरु हुने जानकारी दिएका हुन्।

प्राथमिकता र आवश्यकताका आधारमा खोप लगाउने बर्ग तथा क्षेत्र विस्तार गरिदै लगिने उनको भनाई थियो। फ्रान्समा ८० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुको सङ्ख्या ४१ लाख रहेको अधिकारीहरुले जानकारी दिएका छन्। ती मध्ये ४१ लाखले मात्रै बुस्टर डोज खोप लगाएको देखिएको छ।

फ्रान्समा अहिले पनि दैनिक ७० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप ७२ हजार ४४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

प्रतिक्रिया