Pura Samachar

त्रिभुवन आर्मी फुटबल क्लब चौथो पटक झापा गोल्डकपकाे च्याम्पियन

प्रकाशित: March 14, 2022
पूरा समाचार

त्रिभुवन आर्मी फुटबल क्लब चौथो पटक झापा गोल्डकपकाे च्याम्पियन

त्रिभुवन आर्मी फुटबल क्लब चौथो पटक झापा गोल्ड कप फुटबल प्रतिायेगिताको च्याम्पियन बनेको छ । झापा ११ फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो । पहिलो बाहेक सबै संस्करणमा आर्मी च्याम्पियन बन्दै आएको छ । झापा ११ ले भने पाँचौं पटक पनि उपविजेतामै चित्त बुझाउनु परेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पहिलो हाफमै लिएको अग्रतालाई जोगाउँदै आर्मीले उपाधि जितेको हो । आर्मीका लागि टेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले गोल गरेका थिए । झापा ११ का विमल घर्तीमगरले गोल फर्काएका थिए ।

तीन मिनेटको फरकमा आर्मीले २ गोल खेलमा पकड बनाएको थियो । १८ औं मिनेटमा टेकबहादुरको गोलबाट आर्मीले अग्रता लिएको थियो । २१ औं मिनेटमा विपक्षी गोलकिपर विट भइसकेपछि जर्ज प्रिन्सले खाली पोष्टमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।

२४ औं मिनेटमा विमलले झापाका लागि गोल फर्काएका थिए । उर्लिचको क्रसमा विमल हेड गोल गरेका हुन् । प्रतियोगितामा विमलको त्यो पाँचौं गोल हो । यसअघि क्वार्टरफाइनल र सेमिफाइनलमा विमलले समान २ गोल गरेका थिए ।

पाँचौं संस्करणको झापा गोल्डकपको उपाधि विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार पाउनेछन् ।

प्रतिक्रिया