
काठमाडौं – पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय ५ रनको मध्यम विजयी लक्ष्य दिएको छ ।
शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रन बनायो । पपुवा न्युगिनीका चाल्र्स अमिनीले ८२ बलमा ७ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिए । चाद सोपरले ७४ बल खेल्दै २ चौकासहित ३५ रनमा सोमपाल कामीको बलमा बोल्ड भए ।
एक समय २४.४ ओभरमा ९१-४ को कमजोर अवस्थामा पुगेको पपुवा न्युगिनीलाई पाँचौं विकेटका लागि अमिनी र चाद सोपरले ७५ रनको महत्वपूर्ण साझेदरी गरेका थिए । तल्लोक्रमका नर्मन भानुवा १२ बलमा चौका र १ छक्कासहित २३ रनमा रन आउट भए ।
पपुवा न्युगिनीलाई ओपनर टोनी उरा र लेगा सिकायाले पहिलो विकेटका लागि ९.४ ओभरमा ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । तर त्यसपछि प्रमुख ब्याटरले अघि बढाउन सकेनन् । मध्य गतिका बलर आरिफ शेखको आउट साइड अफ बलमा एज लाग्दै उरा विकेटकिपर विनोद भण्डारीबाट २७ रनमा क्याच भए । उराले ३४ बलमा ५ चौका प्रहार गरे ।
१३ औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले अर्का ओपनर लेगा सियाकालाई २५ रनमा बोल्ड गरे । उनले ३३ बलमा २ चौका प्रहार गरे । ज्ञानेन्द्रले २४ औं ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका प्रमुख ब्याटर तथा कप्तान असाद भालालाई १९ रनमा कुशल भुर्तेलबाट क्याच गराए । ठूलो सट खेलेका भाला मिडअनमा क्याच हुन पुगेका थिए । उनले ५२ बलमा १ चौका प्रहार गरे । ज्ञानेन्द्रको ओडिआईमा यो पहिलो विकेट हो । हिरी हरी शून्यमा रन आउट भए । रिली हेकुरे ७ बलमा १ चौकासहित ९ रनमा अविजित रहे ।
नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३० रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । ज्ञानेन्द्र मल्लले २ ओभरमा ६ रन खर्चेर १ विकेट लिए ।
प्रतिक्रिया