Pura Samachar

आइसिसी महिला एकदिवसिय विश्वकपमा: वेस्टइन्डिजकाे बंगलादेशमाथि रोमान्चक जित हात

प्रकाशित: March 18, 2022
पूरा समाचार

आइसिसी महिला एकदिवसिय विश्वकपमा:  वेस्टइन्डिजकाे बंगलादेशमाथि रोमान्चक जित हात

एजेन्सी – न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपमा वेस्टइन्डिजले बंगलादेशमाथि रोमान्चक जित हात पारेको छ । वेस्टइन्डिजले बंगलादेशलाई ४ रनले हराउँदै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

१ सय ४१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बंगलादेश ४९.३ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । बंगलादेशकी नहिदा अख्तरले ६४ बलमा ३ चौकासहित सर्वाधिक २५ रन बनाइन् । श्रमिन अख्तर १७, परगना हक २३, निजार सुल्तान २५ र समाल खातुन २३ रनमा आउट भइन् ।

वेस्टइन्डिजकी हेली म्याथ्युजले १० ओभरमा १ मेडनसहित १५ रन खर्चेर ४ विकेट लिँदै टोलीको जित पक्का गरिन् । एफी फ्लेचर र स्टेफनी टेलरले ३–३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । विकेटकिपर शेमेन क्याम्पबेलले १ सय ७ बलमा ५ चौकासहित सर्वाधिक ५३ रन बनाइन् । हेली म्याथ्युजले १८, डिआन्ड्रा डोटिन र एफी फ्लेचरले १७–१७ रन बनाए । अन्य ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वेस्टइन्डिज ५ खेलमा ३ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा छ । बंगलादेश ४ खेलमा १ मा जित र ३ मा हार सहित सातौं स्थानमा छ । वेस्टइन्डिजले अव सोमबार पाकिस्तानसँग खेल्नेछ । बंगलादेशले मंगलबार भारतसँग खेल्नेछ ।

अष्ट्रेलिया र दक्षिण अफ्रिका समान ४ खेलमा अपराजित रहँदै नेटरनरेटको कारण पहिलो र दोस्रो स्थानमा छन् । ८ देश सहभागी यस महिला विश्वकपमा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया