Pura Samachar

नेपालले आज पपुवा न्युगिनीविरुद्ध खेल्दै

प्रकाशित: March 22, 2022
पूरा समाचार

नेपालले आज पपुवा न्युगिनीविरुद्ध खेल्दै

काठमाडौं। नेपालले आज आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरुहुनेछ ।

नेपाल पछिल्ला दुबै खेलमा घरेलु टोली युएईसँग ४८ रन र ९९ रनले पराजित भएको थियो । ब्याटिङमा नेपालको प्रदर्शन सम्झन लायक छैन । पपुवा न्युगिनीले युएईलाई ६ विकेटले हराउँदै आइसिसी विश्वकप लिग–२ मा पहिलो जित हात पारेको थियो । नेपालसँग पहिलो खेलमा २ विकेटले पराजित भएको थियो । लगातार खराब ब्याटिङ गर्दै आएको नेपालमाथि पपुवा न्युगिनी जित निकाल्ने सोचमा हुनेछ । पछिल्लो खेलमा युएईलाई हराएको हुँदा पपुवा न्युगिनीको मनोबल उच्च छ ।

पपुवा न्युगिनीले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा आरिफ शेखले ४९ र रोहित कुमार पौडेलले ६० रन बनाएका थिए । युएईसँग १ सय ६९ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १ सय २० रनमा अल आउट भएको थियो । दोस्रो खेलमा २ सय ३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ३ रनमा अल आउट भएको थियो । जुन नेपाली ओडिआईकै सर्वाधिक कम योगफल हो ।

नेपालको शीर्ष चार ब्याटरको प्रदर्शन सम्झन लायक छैन । कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख चारै खेलाडी लगातार खराब सटका साथ आउट हुँदै आएका छन् । पछिल्लो खेलमा आसिफलाई बेन्चमा राखेर पवन सरार्फलाई खेलाएको थियो । पवन पनि २ रनमा आउट भएका थिए । शीर्ष चार ब्याटरलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।

खराब ब्याटिङ गर्नुमा यी चार ब्याटर नचल्नु हो । नेपालले आजको खेलमा पवन सरार्फको स्थानमा भीम सार्कीलाई ओडिआईमा डेब्यू दिनसक्छ । भीम ब्याटिङमा अवका अन्तिम विकल्प हुन् । घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यस्तै तीव्र गतिका बलर विक्रम सोबको स्थानमा विवेक यादवलाई मौका दिनसक्छ ।

विवेक विष्फोटक ब्याटिङ गर्न सक्ने युवा अलराउन्डर हुन् । रोहित र आरिफबाट नेपाल पहिलो खेलमा जसरी जिम्मेवारी प्रदर्शन चाहन्छ । तल्लोक्रमका सोमपाल कामी, विनोद भण्डारी र करण केसीले पनि जिम्मेवारी ब्याटिङ गर्न आवश्यक देखिन्छ । स्पिनर तथा कप्तान सन्दीप लामिछानेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

पपुवा न्युगिनीका कप्तान असाद भाला र चाल्र्स अमिनी प्रमुख हतियार हुन् । युएईलाई हराउन भालाले ६८ रनको इनिङ खेलेका थिए । अमिनीले ३६ रन जोडेका थिए । पपुवा न्युगिनी ओपनर टोनी उरा लेगा सियाकाबाट उत्कृष्ट सुरुवात चाहन्छ । सेसे बाउ र नर्मन भानुवा तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

युएईलाई हराउन तीव्र गतिका बलर एली नाओले १० ओभरमा २७ रन खर्चेर ४ विकेट लिएका थिए । चाद सोपरले ३ र राइली हेकुरेले २ विकेट लिएका थिए । पपुपा न्युगिनीका यी तीन नै प्रमुख बलर हुन् ।

हेड टु हेड :

नेपाल र पपुवा न्युगिनीबीच तीन ओडिआई खेल भएको छ । तीनै खेलमा नेपाल विजयी भएको छ । यसअघि गत सेप्टेम्बरमा नेपालले ओमानमा पपुवा न्युगिनीसँग दुई अ‍ोडिआई सिरिज १ सय ५१ रन र २ विकेटले पराजित भएको थियो ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।

अंक तालिका

ओमान २७ खेलमा १७ मा जित र ८ मा हार सहित ३६ अंक जोड्दै शीर्षस्थानमा छ । युएई १८ खेलमा १० मा जित र ६ मा हार सहित २२ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ११ खेलमा ५ मा जित र ६ मा हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १५ खेलमा १४ खेलमा हार र १ मा जितका साथ पुछारमा छ ।

प्रतिक्रिया