Pura Samachar

अब कुन-कुन देशबाट आउन पाउने छन् नेपाली ?

प्रकाशित: August 21, 2020

अब कुन-कुन देशबाट आउन पाउने छन् नेपाली ?

काठमाडौं । सरकारले विभिन्‍न देशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नियमित उडान सुरु गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्‍न देश तथा शहरबाट नेपाल आउनका लागि नियमित उडान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको निर्णय अनुसार मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान हुने भएको छ ।

संक्रमित कम रहेका र पीसीआर परीक्षण सहज भएका मुलुकका लागि यस्तो व्यवस्था गर्न पर्यटन मन्त्रालयले प्रस्ताव गरेको थियो । सोहि प्रस्तावअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको जनाइएको छ ।

मन्त्रिपरिषदको बैठकले कुन दिनदेखि यस्तो उडान गर्ने भनेर निर्णय भने गरेको छैन ।

यसरी नेपाल आउने वायु सेवाले कुनै एउटा सहरबाट दैनिक एक उडान हुने गरी सातामा बढीमा सात उडानको अनुमति पाउन सक्ने व्यवस्था मिलाइएको छ ।

तर यस्तो यात्रा गर्ने व्यक्तिले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट र नेपाल आएपछि क्वारेन्टिनमा बस्‍नका लागि होटलको बुकिङ गरेको हुनुपर्ने छ । होटल बुकिङ र पीसीआर रिपोर्ट नभएका यात्री बोक्ने वायु सेवा निमगलाई कारबाही गर्ने अधिकार पर्यटन मन्त्रालयलाई दिइएको छ ।

त्यसरी नियमित उडानमार्फत स्वदेश आउन चाहने नागरिकले काठमाडौंमा अनिवार्य सातदिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । होटलको खर्च सम्बन्धित यात्रुले नै व्यहोनुपर्ने जनाइएको छ । होटलको व्यवस्थापन जिल्ला संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी)ले गर्नेछ भने टिकट बुक गर्दा नै होटलको खर्च भुक्तानी गर्नुपर्ने मन्त्री बताउँछन् ।

यसअघि विदेशमा रहेका नेपालीहरुलाई नेपाल ल्याउनका लागि चार्टर्ड उडान मार्फत मात्रै ल्याइँदै आएको थियो । तर त्यस्ता उडान महंगो भएको भन्दै तीव्र आलोचना भएको थियो ।

प्रतिक्रिया