Pura Samachar

लेटाङमा भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय

प्रकाशित: March 23, 2022
पूरा समाचार

लेटाङमा भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय

विराटनगर, ९ चैत-तीन दिन तनावग्रस्त रहेको मोरङको लेटाङ नगरपालिकामा स्थिति सामान्य बन्न थालेपछि भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय भएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले नगरपालिकाको चौतर्फी अध्ययनपछि सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । तनावग्रस्त क्षेत्रमा आज बेलुका ६ बजेदेखि भोलि बिहानसम्मको निषेधाज्ञा भने कायम नै रहेको बताइएको छ ।

स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुव्र्यवहार गरेको विषयलाई लिएर तनावग्रस्त बनेको सो क्षेत्रमा कर्तव्य पालनाको सिलसिलामा विराटनगर रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको दुःखद् निधन भएको थियो । घटनामा प्रर्दशनकारी र सुरक्षाकर्मीसमेत घाइते भएकाले उक्त प्रवृत्तिको घटना दोहोरिन नदिन र जनधनको थप क्षति हुनबाट रोक्न अत्यावश्यक सेवाबाहेक मानिस आवतजावत, भेला गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम यही चैत ६ गते निषेधाज्ञा आदेश भएको थियो ।हालको अवस्था सामान्य रहेको छ, तथापि सो क्षेत्रमा प्रहरी गस्ती र निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

प्रतिक्रिया