
सर्लाही । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसी यहाँ जारी छैटौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अफ्रिकन खेलाडीले भरिएको एभनिर एफसी क्यामरुनलाई पराजित गर्दै मछिन्द्रले आफ्नो साख कायमै राख्यो ।स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको खेलमा मछिन्द्रको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ । मछिन्द्रले सेमिफाइनलमा सुदूरपश्चिम ११ एफसीसँग फाइनल प्रवेशका लागि खेल्ने पक्का भएको छ ।९० मिनेटको निर्धारित समयमा दुवै टोलीले गोल गर्न सकेनन् । पाएका अवसरलाई पनि गोलमा परिणत गर्न नसक्दा दर्शक निरश देखिन्थे भने गोलको खडेरी नै टार्न सकेनन् ।अन्ततः खेलको निर्णय सडन डेथबाट लिइएको थियो । दुवै टोलीले टाइब्रेकरमा पनि गोल गर्न सकेनन् । सडन डेथमा ६-५ गोलअन्तरले मछिन्द्र विजयी बन्यो । क्यामरुनका एस बोरिसको प्रहार क्रस बारमा लाग्दै फर्किएपछि मछिन्द्रको भाग्य खुलेको थियो ।
खेलको म्यान अफ दी म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद १० हजार पाए । भोलि (बिहीबार)को पहिलो सेमिफाइनल खेल आयोजक बागमती युवा क्लब र साविक विजेता पिप्ले युथ क्लब हेटौँडाबीच हुनेछ ।
प्रतिक्रिया