
एजेन्सी – ओपनर एलिसा हेलीको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकप सेमिफाइनलमा वेस्टइन्डिजलाई ३ सय ६ रनको विशाल लक्ष्य दिएको छ ।बेसिन रिजर्व वेलिंगटनमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ४५ ओभरमा ३ विकेट गुमाउँदै ३ सय ५ रन बनायो । अष्ट्रेलिया ओपनर तथा विकेटकिपर एलिसा हेलीले १ सय ७ बलमा १७ चौका र १ छक्कासहित १ सय २९ रनको उत्कृष्ट शतकीय इनिङ खेलिन् ।
उनको यो ओडिआई करिअरको चौथो शतक हो । अर्की ओपनर राचेल हेन्स १ सय बलमा ९ चौका सहित ८५ रनमा आउट भइन् ।
पहिलो विकेटका लागि ओपनर हेली र हेन्सले २ सय १६ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । कप्तान मेग ल्यानिङ २६ र बेथ मुनी ४३ रनमा अविजित रहिन् ।
वेस्टइन्डिजकी चिनेल हेनरीले २ र शमिला कर्नवेलले १ विकेट लिइन् । अष्ट्रेलिया अपराजित यात्राका साथ शीर्ष र वेस्टइन्डिज चौथो स्थानमा रहेर सेमिफाइनल खेलेका हुन् । दोस्रो सेमिफाइनल खेलमा बिहीबार दक्षिण अफ्रिका र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल अप्रिल ३ मा हुनेछ ।
प्रतिक्रिया