Pura Samachar

आइसिसी महिला एकदिवसिय विश्वकपको अष्ट्रेलिया अपराजित यात्राका साथ फाइनलमा

प्रकाशित: March 30, 2022
पूरा समाचार

आइसिसी महिला एकदिवसिय विश्वकपको  अष्ट्रेलिया अपराजित यात्राका साथ फाइनलमा

एजेन्सी – ओपनर एलिसा हेलीको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपको पहिलो सेमिफाइनलमा वेस्टइन्डिजलाई १ सय ५७ रनले हराउँदै फाइनलमा पुगेको छ । अष्ट्रेलिया अपराजित यात्राका साथ फाइनलमा पुगेको हो ।

३ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३७ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । वेस्टइन्डिजकी कप्तान सफाली टेलरले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४८ रन बनाइन् । ओपनर हेली म्याथ्युज र डिएंड्रा डोटिनले ३४-३४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अष्ट्रेलियाकी जेस जोनसेनले ५ ओभरमा १४ रन खर्चेर सर्वाधिक २ विकेट लिइन् ।

त्यसअघि बेसिन रिजर्व वेलिंगटनमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ४५ ओभरमा ३ विकेट गुमाउँदै ३ सय ५ रन बनाएको थियो । अष्ट्रेलिया ओपनर तथा विकेटकिपर एलिसा हेलीले १ सय ७ बलमा १७ चौका र १ छक्कासहित १ सय २९ रनको उत्कृष्ट शतकीय इनिङ खेलिन् । उनीनै खेलको प्लेयर अफ द म्याच चुनिन् ।

उनको यो ओडिआई करिअरको चौथो शतक हो । अर्की ओपनर राचेल हेन्स १ सय बलमा ९ चौका सहित ८५ रनमा आउट भइन् । पहिलो विकेटका लागि ओपनर हेली र हेन्सले २ सय १६ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । कप्तान मेग ल्यानिङ २६ र बेथ मुनी ४३ रनमा अविजित रहिन् ।

वेस्टइन्डिजकी चिनेल हेनरीले २ र शमिला कर्नवेलले १ विकेट लिइन् । अष्ट्रेलिया अपराजित यात्राका साथ शीर्ष र वेस्टइन्डिज चौथो स्थानमा रहेर सेमिफाइनल खेलेका हुन् । दोस्रो सेमिफाइनल खेलमा बिहीबार दक्षिण अफ्रिका र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा अप्रिल ३ अष्ट्रेलियासँग उपाधिको लागि खेल्नेछ ।

प्रतिक्रिया