Pura Samachar

पर्सा र चितवनमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

प्रकाशित: August 23, 2020

पर्सा र चितवनमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज र चितवनको भरतपुरमा दुई महिलाको मृत्यु भएको हो ।

पर्साको वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा वीरगञ्ज महानगरपालिका–११ श्रीपुरकी ५६ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ती महिलाको साउन २२ मा संकलन गरिएको स्वाबको साउन २४ मा पीसीआर परीक्षण नतिजा पोजेटिभ आएको थियो । उनी ज्वरो, खोकी, थाइराइड तथा श्वासप्रश्वासको समस्याबाट ग्रसित थिइन् ।

यस्तै चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौडा उपमहानगरपालिका–३ की ६५ वर्षीया महिलाको शनिबार साँझ साढे ७ बजे मृत्यु भएको हो ।

मृत्युपछि मात्रै ती महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । भदौ १ गते नै उनको स्वाब संकलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो ।

तर, रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको पौडेलको भनाई छ । कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । सोही अस्पतालमा बिहीबार राति निधन भएका हेटौडाका ७५ वर्षीय पुरुषको पनि शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया