काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आउँदा दिनमा गल्ती नदोहोर्याउने प्रण गरेकी छिन् । जन्म दिनको अवसर पारेर उनले आज सामाजिक सञ्जालमार्फत आगामी दिनमा पुनः गल्ती नदोहोर्याउने प्रण गरेकी हुन् ।
राजेश हमाल महानायक हुन् कि होइनन् र उनले निभाउनुपर्ने भूमिकाका विषयमा आफूले दिएको अन्तर्वार्तामा तीनवटा गल्ती गरेको बताएकी उनले अब सोही प्रकृतिका गल्नी नगर्ने प्रण गर्दै भनेकी छिन्, “राजेश हमालका फ्यानहरुलाई मेरो अभिव्यक्तिले चित्त दुखेको छ भने मलाई आफ्नै दिदीबहिनी सम्झिएर माफ गरिदिनुहोस् ।”
उनले रजतपटक अंकल टक शोमा आफूले तीनवटा गल्ती गरेको बताएकी छिन् । विनातयारी अन्तर्वार्तामा जानु पहिलो गल्ती भएको भन्दै उनले अन्तर्वार्ताका क्रममा आएको प्रश्नको आवेगमा बडी ल्याङ्वेजमा कन्ट्रोल गर्न नसक्नु दोस्रो गल्ती भएको स्वीकार गरेकी छिन् । कूटनीतिक जवाफ दिन नसकेर अग्रज कलाकार (राजेश हमाल) प्रति गरेको टिप्पणी तेस्रो तथा मुख्य गल्ती भएको उनले समीक्षा गरेकी छिन् ।
अन्तर्वार्ता हेरिसकेपछि सहकर्मी दीपकराज गिरीले अन्तर्वार्ता राम्रो दिन नसकेको र शब्द चयनमा चुकेको बताएको स्मरण गर्दै उनले लगत्तै युट्युबका कमेन्ट हेर्दा गाली आउन थालेको बताएकी छिन् ।
आत्तिएर कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीलाई सम्पर्क गरेर आफ्नो नियत खराब नभए पनि शब्द चयनमा गल्ती भएको भन्दै समस्या समाधानका लागि केही गर्न आग्रह गरेको तर प्रकाशले कलाकार भएपछि ताली र गाली दुवै सहनुपर्छ भनेर पन्छिएको बताएकी छिन् ।
सफलतासँगै तिरस्कार गाली पनि जोडिएर आउनेरहेछ भन्दै उनले आफूलाई चलचित्रको गीत, ट्रेलर, फिल्म रिलिज गर्दा पनि गाली आउने गरेको स्मरण गरेकी छिन् । दीपकराज गिरीले तिमीले अन्तर्वार्ता राम्रो दिएनौं भनेर आफूलाई भनिरहँदा पनि उनलाई नै गाली गरेर महानायक भन्दै टिप्पणी गरेकोप्रति दीपाश्रीले असन्तुष्टि जनाएकी छिन् । आफ्नो कारणले दीपकसँगै छक्का पञ्जा टिमलाई नै गाली गरिँदा आफूलाई आत्मग्लानि भएको तर आफन्त तथा शुभचिन्तकहरुको मायाले पुनः दर्शकमाझ आएको भिडियोमा उल्लेख गरेकी छिन् ।
तीन दशक लामो कला यात्रामा आधा समय दुःख मै बितेको उनको भनाइ छ । तीतो सत्यको सफलतापछि फर्किएर हेर्नु नपरेको बताएकी उनले छक्का पञ्जा चलचित्रले आफूलाई थप सफलता प्रदान गरेको बताएकी छिन् ।
कला यात्रामा सफलता पाए पनि व्यक्तित्व विकासमा भने केही कमजोरी रहेको उनले स्वीकार गरेकी छिन् । मिडिया कसरी फेस हुने, कसरी सभ्य र सिष्ट तरिकाले प्रस्तुत हुने, चलाखीपूर्ण जवाफ कसरी दिने यसमा भने आफ्नो कमजोरी रहेको उनले बताएकी छिन् ।
केही समयअगाडि प्राइम टेलिभिजनको टक शो रजतपट अंकलमा उनले महानायक पनि हुनुहुन्छ र ? कोरोनाले चलचित्र प्राविधिकहरु भोकै भएका बेला उहाँको केही जिम्मेवारी हुँदैन भनेपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचनासँगै गाली गलौजसमेत भएको थियो । केही दिनमा आफूले गल्ती गरेको भन्दै माफी मागे पनि उनी ट्रोलको सिकार बनेकी थिइन् ।
दीपाश्रीबारे दीपकराज गिरीले फेसबुक भिडियोमा आएर दर्शकलाई सम्बोधन गर्दा सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएका थियो । दीपाश्री निरौला चलचित्र ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक हुन् । दीपाश्री निरौला, दीपकराज गिरी, जितु नेपाल, केदारप्रसाद घिमिरेलगायत उनीहरुको चलचित्र समूह हो ।
प्रतिक्रिया