Pura Samachar

मानवीय सभ्यताको निधारमा पोतिएको कालोमासो

प्रकाशित: April 1, 2022
पूरा समाचार

मानवीय सभ्यताको निधारमा पोतिएको कालोमासो

मानिस सामाजिक प्राणी हो । समाजविना हाम्रो अस्तित्वलाई हामीले उजागर गर्न सक्दैनौ । ल्याटिन भाषाको ‘सोसिअस’बाट अंग्र्रेजी शब्द ‘सोसाइटी’ जन्मेको विश्वास गरिन्छ । यसको ल्याटिन अर्थ ‘मैत्री सम्बन्ध’ हुन्छ । मानव-मानवबीचको सम्बन्धलाई यसले बढी दर्शाउँछ । एकै स्थान तथा क्षेत्रमा बसोबास गर्ने एउटै रहनसहन, व्यवस्था, धर्म, संस्कृति अंगाल्ने मानिसको समिष्टगत समूह वा रूप समाज हो । मानिसहरूको व्यवहारले नै समाजको संकेत गर्छ । अझ पछिल्लो समय संसार एउटा गाउँमा परिणत भएका छ प्रविधिका कारण । संसारको कुनै एक कुनामा भएका घटना, प्रगति, या कुनै पनि गतिविधि क्षणभरमै संसारका मानिसको हात हातमा पुग्ने गर्दछ ।

एकातिर सवल, सचेत २१औं शताब्दीका हामी भनेर भनिरहँदा अर्कोतर्फ सभ्य र सचेत मानिसको बथानमा कुमान्छेको मनस्थिति हामीमाझ रहेको छ । जसप्रति घृणा र आक्रोश एकसाथ उत्पन्न हुन्छ । समाज रहेका यस्ता मान्छेका कारण एक्काइसौं शताब्दीमा आइपुगेका हामी अझै कहाँ छौ भन्ने प्रश्न ज्वलन्त रूपमा अगाडि आउँछ । हामी सभ्य र सुस्कृत समाजमा बाँचिरहेको भनिरहँदा यस्ता मानिसका कारण हामी कुन युगमा बाँचिरहेका छौ भन्ने प्रश्न तेर्सिन्छ हामीमाझ । समाज परिवर्तनको सम्बाहक बन्नुपर्ने शिक्षक, समाजका अगुवा, कथित बुद्धिजीवीहरू नै सामाजको कंलकका रूपमा देखा पर्दा हाम्रो मथिगंलमा अनेक प्रश्न एकसाथ उब्जिने गर्छन् । यस्ता घटनाक्रमले के देखाउँछ भने हामी कतै सभ्यताको ढोङमात्र गरिरहेका त छैनौ । एकआध घटनाले यस्तो सोच्न बाध्य बनाए पनि समाज त जहिले अग्रगामी र प्रगतिशील नै हुने गर्दछ ।

समाज निर्माणका लागि पुरुष र महिलाको उतिकै जिम्मेवारी रहन्छ । अझ महिलाको अलिक बढी जिम्मेवारी रहने गर्दछ । नारी शब्द आफैंमा एउटा गर्बिलो र स्नेही शब्द हो जसबाट मानिसको सृष्टि चलिरहेको छ । तर, आजको समाजमा पनि उहीँ नारी माथिको हिंसा क्रुर र दर्दनाक बन्दै गइरहेको छ जसले हामीलाई यो समाजमा गिज्जाइ रहेको हो । चाहे लैगिंक होस्, शारीरिक होस् वा पारिवारिक होस् जसको विरुद्ध आजको सभ्य भनिने समाजले आवाज मुखरित गर्न जरुरी छ । हाम्रो समाजको शिक्षित भनिएको वर्गले यसको विरुद्धमा खुलेर बोल्न जरुरी छ । शिक्षित वर्ग मौन बस्नु वा आफूलाई शिक्षित भन्ने वर्गबाट नै नारीमाथि विभिन्न प्रकारका हिंसा वा दमन हुने यस्तो परिस्थितिले सभ्य समाजको परिकल्पना गर्न सकिँदैन । यस्तै समाजमा दिनप्रतिदिन घटिरहेका बलात्कार जस्तो घृणित पाशविक कृत्यले समाजलाई आहत र कंलकित पारिरहेको छ । नारीलाई देवी मानेर पूजा गर्ने देशहरूमा समेत स-साना बालिकासँग हुने गरेका पाशविक बलात्कार र हत्या जस्ता घटनाले समाजको क्रुर रूपमा हामीमाझ छ । क्षणिक शारीरिक उन्मादलाई भ्रामक तृष्टिकरण दिनको लागि विकृत मानसिकता भएका यौन पिपासुहरूले जसरी अर्काको जीवन बर्बाद पार्छन त्यसको लागि जतिसुकै कठोर सजाय दिएपनि अपुग नै हुन्छ । महिला हिंसाभित्रको सबैभन्दा क्रुर, अमानवीय र कारुणिक दृश्य हो बलात्कार ।

कुनै पनि पुरुष वा नारीले अन्य पुरुष वा नारीको इच्छाविपरीत शारीरिक सम्बन्ध कायम गर्छ वा प्रयत्न गर्छ भने त्यो बलात्कार-यौन दुव्र्यवहार ठहर्छ । अहिले बलात्कारका थप व्याख्या पनि कतिपय देशका कानुनविद्ले गरेका छन् । जसअनुसार अदालतले बलात्कार ठहर गरेर सजाय पनि दिने गरेको छ । तरपनि बलात्कारको ग्राफ दिनप्रतिदिन घटनुको साटो बढ्दोक्रममा नै देखिन्छ । गत वर्षको तथ्यांक हेर्दा दैनिक सरदर ६-७ बालकालिका महिला बलात्कृत भएका छन् । निर्मला पन्त जस्तै अन्य थुप्रै मुनाहरूको, कोपिलाहरूको बलात्कारपछि वीभत्स हत्या मानवीय सभ्यताको निधारमा पोतिएको कालोमासो हो ।

बलात्कृत बालिका, किशोरीलाई हाम्रो समाजले उल्टै हेर्ने दृष्टिकोण राम्रो रहेको पाइँदैन । यसलाई परिवर्तन गर्न जरुरी छ । जो पीडित छ उसैलाई नै हाम्रो समाजमा दोषिको रूपमा कठाघरमा उभ्याउने गर्दछ । आफ्नै गाउँ ठाउँमा बस्दा अनेकन असहैय कटुवचन, प्रताडनाको समाना गर्नुपर्ने हाम्रो तितो यर्थाथ रहेको छ । जसले गर्दा मानसिक रूपमा विक्षप्त हुनेजस्ता घटना हाम्रो सामू देखा पर्दछन् । यस्ता घटनाले आत्महत्यासम्मका परिस्थिति निम्ताएको छ । यसरी एउटा बलात्कारीले सधैंका लागि उनको हाँसो, मुस्कान, सुखचैन एक क्षणमै लुट्छ ।

अहिलेसम्म सार्वजनिक भएको तथ्यअुनसार अपरिचितभन्दा चिनेजानेका, आफन्त, नाता गोताका व्यक्तिबाटै बढी बलात्कार हुने गरेको छ । योसँगै बलात्कारीको मनोविज्ञान बारे पनि मनन गर्नु आवश्यक छ । वैशमा पाइला टेकेसँगै युवक-युवतीको यौनांगको विकासका साथै यौन आकांक्षा पनि नैसिर्गिक रूपमा तीव्र हुन्छ । हाम्रो समाजिक प्रचलन, जीवनशैलीले पनि उनीहरूलाई यौनसम्बन्ध राख्नेतर्फ उत्सुक बनाउँछ । बलात्कार शारीरिकमात्र नभएर मानसिक समस्या हो । यसको गहिराइमा समाजिक रहन सहन, शैक्षिक-आर्थिक जीवनस्तर जस्ता कारण देखिन्छन् । किन र के का लागि हिंसा भइरहेको भन्ने कुराको निदान हुनु र त्यस अनुसारको जनचेतना तथा कानुनी सजायको प्रत्याभूति गर्नु आजको आवश्यकता हो । एउटा नाबालिका छोरी आफ्नै बाबुसँग, दिदीबहिनी दाजुभाइसँग, बुहारी ससुरासँग असुरक्षित र भयभीत हुनुपर्ने अवस्थाको अन्त्यका काठोर कानुनी व्यवस्थाका साथै अन्य उपायको खोजी गर्नु आवश्यक छ ।

सम्मान र स्वाभिमान पूर्वक बाँच्न हरेक व्यक्तिको नैसर्गिक अधिकार हो । कुनै पनि व्यक्तिलाई लैगिंक विभेदकारी सामाजिक मूल्य मान्यताका आधारमा शारीरिक, मानसिक तथा यौनजन्य डर, त्रास, धम्कीलगायतका क्रियाकलापले समाजमा भएको सामाजिक भावनालाई खलबल्याउँछ साथसाथै यसले व्यक्तिको विकास र समानतामा असर पुर्‍याउँछ । यस्ता हिंसाले व्यक्तिको पहिचानलगायत समानता, स्वतन्त्रता, अवसर आत्म सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हनन् भएको हुन्छ । महिलाको योनीमा लगेर समाजको इज्जत राख्नु नै गलत हो ।

यताका दिनहरूमा बलात्कार-यौन दुव्र्यवहारसँग अन्य समास्या पनि जोडिन पुगेका छन् । यस्ता घटनापछि सामाजिक विचौलियाहरूको चलखेलमा सहमतिमा शारीरिक सम्बन्ध भएको भनी मिलेमतो गराउने, लुकाउने, प्रतिशोध साध्न प्रयोग गर्ने, आर्थिक दोहनको हतियार बनाउने प्रवृति बढनु थप चिन्ताको विषय बन्न पुगेको छ । दुई/तीनवटा सन्तान भएकी महिला वा पूर्ण परिपक्व महिलासँग तीन-चार वर्षसम्म यौन सम्बन्ध राखेपछि उच्च पदस्थ राजनीतिज्ञ, सरकारी पदाधिकारी, कलाकार वा धनाढ्य व्यक्तिमाथि अकस्मात बलात्कार वा यौन दुव्र्यवहारको आरोप लाग्दा विभिन्न टिकाटिप्पणी र चासोहुन स्वभाविक हो । यस्ता चर्चा परिचर्चाको भयबाट बढ्दैै गएको वास्तविक बलात्कारको समस्यालाई गञ्जागोलमा पार्ने खतरालाई नजर अन्दाज गर्न मिल्दैन ।

वस्तुतः बलात्कार वा यौन दुव्र्यवहार सिंगो समाजका लागि गम्भीर चुनौती हो । हत्याभन्दा पनि जघन्य अपराध हो । किनभने बलात्कृतलाई जीवनभरी मृत्युभन्दा बढी पीडा-यातना सहनुपर्छ । अतः त्यसैअनुरूप कानुन बनाएर बलात्कारी ठहरिएकालाई मृत्युदण्ड दिने वा नपुंसकताको सुई दिने व्यवस्था गर्नु आवश्यक छ । यसका साथै बलात्कारको नाममा अन्य किसिमका वितण्डा गरी यसको भयावहताप्रति द्विग्भ्रमित पार्न खोज्नेप्रति कानुन कठोर रूपमा प्रस्तुत हुनुपर्छ । बलात्कारजस्तो जघन्य अपराध समाजमा वृद्धि भइरहनु असंवेदनशीलताको पराकाष्टा हो भने राज्य प्रशासनको गैरजिम्मेवारीपन भन्दा अतिशयोक्ति नहोला । आउनुहोस् तपाईं हामी सबै मिलेर सभ्य समाजको निर्माण गरौं । समाजको यो कलंकलाई न्युनिकरण गर्न सहयोगीको भूमिका आ-आफ्नो ठाउँबाट निर्वाह गरौं ।

मनुस्मृतिमा भनिएको छ, यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।। अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताको वास हुन्छ र जहाँ नारीको पूजा हुँदैन, सम्मान हुँदैन, त्यहाँ गरेका सबै कर्म निष्फल हुन्छन् ।साभार हिमालय टाईम्स बाट

प्रतिक्रिया