
एजेन्सी – युवा ओपनर अभिषेक शर्माको उत्कृष्ट ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्समाथि ८ विकेटको सानदार जित हात पारेको छ । हैदराबादले पहिलो जित हात पार्दा चार पटकको च्याम्पियन चेन्नई भने लगातार चौथो हार बेहोर्दै खराब सुरुवात गरेको छ ।१ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादको जितमा अभिषेक शर्माले ५० बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए । राहुल त्रिपाठी १५ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहे । निकोलस पुरन २ बलमा १ चौकासहित ५ रनमा अविजित रहे ।
ओपनर केन विलियम्सन र अभिषेकले १२.१ ओभरमा ८९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । विलियम्सन ४० बलमा २ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । चेन्नईका मुकेश चौधरी र ड्वेन ब्राभोले १–१ विकेट लिए ।
त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । चेन्नईका मोईन अलीले ३५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाए । ओपनर रोविन उथप्पा १५ र ऋतुराज गायकवाड १६ रनमा आउट भएका थिए ।
अम्बाती रायुडू २७ बलमा ४ चौकासहित २७, शिवम दुबे ३, रविन्द्र जडेजा २३ र महेन्द्रसिंह धोनी ३ रनमा आउट भए । हैदराबादका वासिन्टन सुन्दरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार, मार्को ज्यानसन र एडेन माक्ररमले १–१ विकेट लिए ।
चेन्नई कोलकाता र लखनऊ सुपर जायन्ट्ससँग ६–६ विकेट तथा पन्जाबसँग ५४ रनले पराजित भएको थियो । चेन्नईले मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । हैदराबाद राजस्थानसँग ६१ रन र लखनऊसँग १२ रनले पराजित भएको थियो । हैदराबादले अव सोमबार गुजरात टाइटन्ससँग खेल्नेछ ।
प्रतिक्रिया