
एजेन्सी – शीर्ष दौडमा रहेका इन्टर मिलान र युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा जित निकालेका छन् । इन्टरले घरेलु मैदानमा हेलास भेरोनालाई २–० ले पराजित गरेको हो ।घरेलु मैदान मिलानोमा इन्टरको जितमा निकोलो बरेल्ला र इडेन जेकोले गोल गरे । दुवै गोल पहिलो हाफमा ९ मिनेटमा अन्तरमा भएको थियो ।२२औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इन्टरले अग्रता लिएको थियो । उनले इभान पेरिससको पासमा गोल गर्न सफल भएका थिए ।
३०औं मिनेटमा इभान पेरिससकै पासमा इडेन जेकोले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर विजयी हुन सफल भयो ।
यो जितसँगै इन्टर ३१ खेलबाट ६६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ६६ अंक नै रहेपनि नेपोली गोलअन्तरमा तेस्रो स्थानमा रहेको छ । पराजित हेलास भेरोना ३२ खेलबाट ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
सिरी ‘ए’ कै अर्काे खेलमा युभेन्ट्सले क्याग्लिएरीमाथि २–१ को पूनरागमन जित निकालेको छ । युभेन्ट्सको जितमा म्याथिज डि लेग्ट र डुसान भ्लाहोभिचले गोल गरे । घरेलु टोलीका जोआओ पेड्रोको गोल सान्त्वना बन्यो ।
क्याग्लिएरीमा शनिबार राति भएको खेलको १०औं मिनेटमा जोआओ पेड्रोको गोलबाट युभेन्ट्स खेलमा पछि परेको थियो । उनले राजभान मरिनको पासलाई सदुपयोग गरेका थिए । ४५औं मिनेटमा म्याथिज डि लेग्टले जुआन कोर्डाडोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७५औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।
यो जितसँगै युभेन्ट्सले शीर्ष चारमा आफ्नो स्थान मजवुत बनाएको छ । चौथो स्थानमा रहेको युभेन्ट्सको ३२ खेलबाट ६२ अंक पुगेको छ । युभेन्ट्स दोस्रो स्थानको इन्टर र तेस्रो स्थानको नेपोलीभन्दा ४ अंकले पछि रहँदा पाँचौ स्थानको रोमाभन्दा ८ अंकले अघि छ । क्याग्लिएरी २५ अंक जोडेर १७औं स्थानमा रहेको छ ।
प्रतिक्रिया