Pura Samachar

नेपालले क्यानडाकाे राष्ट्रिय टिमसँग दुईवटा टी–२० र तीनवटा वन–डे खेल खेल्ने

प्रकाशित: April 11, 2022
पूरा समाचार

नेपालले क्यानडाकाे राष्ट्रिय टिमसँग दुईवटा टी–२० र तीनवटा वन–डे खेल खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमकाे व्यस्तता फेरी बढ्ने भएकाे छ । हालै मात्र घरेलु मैदानमा बाेलाएर मलेसिया र पीएनजीसँग खेलेकाे नेपाल अब भने देशबाहिर गएर खेल्ने भएकाे छ । आउँदाे मे तेस्राे साता नेपाली टिम क्यानडा जाने भएकाे छ ।

त्यहाँ नेपालले क्यानडाकाे राष्ट्रिय टिमसँग दुईवटा टी–२० र तीनवटा वन–डे खेल खेल्ने भएकाे छ । क्यानाडामा १० दिनसम्म बसेर जम्मा ५ खेल खेल्ने भएकाे हाे । अमेरिकामा हुने त्रिदेशीय सिरिजमा सहभागी हुन जानुअघि नेपाली क्रिकेट टोली अभ्यासका लागि क्यानाडा जाने भएकाे हाे ।

नेपालले अमेरिकामा जुन दोस्रो साता त्रिदेशीय श्रृंखला खेल्नेछ। नेपाली टिमका पूर्वकप्तान एवं राष्ट्रिय टोलीका व्यवस्थापक विनोद दास र नेप्लिज क्यानेडीयन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठबीच काठमाडौंमा आइतबार भेटवार्ता भएको नेपाल टच नामक अनलाइनले जनाएकाे छ ।

त्यस क्रममा नेपाली टिम क्यानाडा जानेबारे समझदारी भएको साे अनलाइनले उल्लेख गरेकाे छ । टी–२० खेलहरु टोरन्टोस्थित नर्थ योर्कको किङ सिटी मैदानमा खेलाईने क्लबका अध्यक्ष श्रेष्ठले बताएका छन् । तीनवटा वान–डे खेलहरुका लागि भने स्थान अझै टुंगो नलागेकाे उनले जानकारी दिएका छन् ।

नेपाली टिमले क्यानाडाका ब्राम्प्टन र मिसिसागामा रहेका क्रिकेट मैदानमा अभ्यास गर्ने क्लबका सचिव तथा मिडिया टिम कोअर्डिनेटर विनय यादवले जनाएका छन्। क्यानाडामा नेपाली टिमको भव्य स्वागत गर्ने क्लवको योजना छ।

यसका लागि आकर्षक कार्यक्रम तय गर्न वैठकमा छलफल गर्न लागिएको क्लबले जनाएको छ। नेपाली टिमको १० दिने क्यानाडा बसाइ सुखद एवं उपलब्धिमूलक बनाउने योजना रहेको श्रेष्ठ बताउँछन्।

आइसीसी क्रिकेट वर्ल्डकप लिग–२ अन्तर्गत नेपालले नर्थ क्यारोलिनास्थित मोरिसभिलमा आगामी जून ७ देखि १४ सम्म अमेरिका र ओमानसँग त्रि–देशीय शृंखला खेल्दैछ। उक्त प्रतियोगिताको तयारीका लागि अभ्यास खेल खेल्न नेपाली टिम अभ्यास खेलका लागि क्यानाडा जाने भएको हो।

यसका लागि साे क्लबले भूमिका खेलेकाे थियाे । अहिलेका नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको स्थायी बसोबास क्यानाडामै भएकाले पनि उनी नेपाली टिमलाई एकपल्ट क्यानडा पुर्याउन चाहन्थे।

प्रतिक्रिया