Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवाको मेलम्ची जाने कार्यक्रम स्थगित

प्रकाशित: April 12, 2022
पूरा समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाको मेलम्ची जाने कार्यक्रम स्थगित

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको मेलम्ची जाने कार्यक्रम स्थगित भएको छ। बिहान सुन्दरीजलमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्ने र दिउसो मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलमा गएर पानी पठाउने कार्यक्रम तय भएको थियो।

निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा जान नसक्ने भएको खानेपानी मन्त्रालयले जनाएको छ। अब खानेपानी मन्त्री उमाकान्त चौधरी मात्रै जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स र सुरूङ सफा गर्ने सकिएको छ।

अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना थियो। गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो।

मंगलबार अम्बाथानबाट सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्ने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए। पानी काठमाडौं आइपुग्न भने दुइ तीन दिन लाग्ने मन्त्रालयले जनाएको छ।

भट्टराईको प्रधानमन्त्रीकालमा २०४८ सालमा मेलम्चीको पानी काठमाडौं ल्याउने अवधारणा आएकाले सरकारले सुन्दरीजलमा उनको शालिक बनाउने भएको हो। मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले अस्थायी रूपमा पानी ल्याउनका लागि सबै संरचना तयार भएको बताए।

अम्बाथान अडिटमा जम्मा भएको थेग्रिनी सफा गर्ने काम सकिएपछि मन्त्रालयले त्यहीँ उद्घाटनको कार्यक्रम राखेको छ। मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी मोटरेबल पुल निर्माण भएका छन्।

गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो। बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो। गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो।

वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो। सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो। मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिनी छ। त्यो थेग्रिनी वर्षाका क्रममा बगिरहने भएकाले नियन्त्रणको दीर्घकालीन उपाय खोज्नुपर्ने भएको छ।

मेलम्चीको माथिल्लो भागको भौगर्भिक अध्ययन गर्न विज्ञ टोली खटिएको थियो। एसियाली विकास बैंकको समन्वयमा टोलीले भौगर्भिक अध्ययन गरिसकेको छ। पानीको चरम अभाव झेलिरहेका राजधानीबासीलाई मेलम्चीको पानी आयो भने निकै राहत हुने देखिन्छ।

प्रतिक्रिया