
काठमाडौं । पछिल्लो समय नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गर्दै संविधान संशोधन गरेपछि नेपाल-भारत सम्बन्ध चिसिएको छ । नेपाका सञ्चारमाध्यमहरुले विभिन्न तथ्य र प्रमाणहरु पेस गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको रिपोर्टहरु प्रकाशन-प्रसारण गरिरहेका छन् ।
तर, भारतीय सञ्चारमाध्यमहरुले भने नेपाल चिनियाँ प्रभावमा परेको समाचारहरु प्रकाशन गरिरहेका थिए । यससँगै भारतीय सञ्चारमाध्यमहरु कथित नेपाल-चीन विवादका गलत समाचारहरु रमाइरहेका छन् ।
“नेपालको कृषि मन्त्रालय अन्तर्गतको सर्वेक्षण विभाग” द्वारा तयार गरिएको ‘नक्कली रिपोर्ट’ केहि बर्ष अघिदेखि पत्रकारहरूको एउटा समूहमा घुमिरहेको छ । केही पत्रकारले उक्त रिपोर्टको आधारमा समाचारहरुसमेत लेखेका थिए । चीनद्वारा नेपालको भूमि अतिक्रमणसम्बन्धी ‘कथित’ प्रतिवेदन कृषि विभागअन्तर्गत सर्वे विभागले तयार पारेको थियो ।
पछिल्लो वर्ष नोभेम्बरमा नेपालको सीमावर्ती क्षेत्र कलापानीलगायतको भूमि समेटेर नयाँ राजनीतिक नक्सा तयार गरेपछि नेपालले उक्त नक्सामा आपत्ति जनाएको थियो । त्यसपछि भारतीय मिडियाहरुले नेपालको भूमि चीनलेसमेत अतिक्रमण गरेको भन्दै बेलाबेलामा समाचार खुराँक पस्किने गरेका छन् ।
केही सीमित नेपालका मिडियाहरुले यसबारे समाचार लेखेपछि परराष्ट्र मन्त्रलायले नेपालको कुनै पनि भूमि चीनले अतिक्रमण नगरेको स्पष्ट पारेपछि ती नेपाली मिडियाहरुले माफीसमेत मागेका थिए । तर, भारतीय सञ्चारमाध्यमहरुले भने यसबारे गलत प्रचारप्रसार गरिरहेका छन् ।
भारतीय सञ्चारमाध्यमहरुले नेपाली भूमि भारतले नभइ वास्तविकरुपमा चीनले अतिक्रमण गरेको हो भन्ने धारणा बनाउन यस्ता समाचारहरु प्रकाशन भइरहेका देखिन्छन् । ‘नेपाली भूभागमाथि चिनियाँ अतिक्रमण’ शीर्षकमा समाचार लेख्ने ती सञ्चारमाध्यमहरुले उक्त रिपोर्टबारे नेपालको आधिकारिक निकायसँग पनि कुनै प्रतिक्रिया लिन आवश्यक ठानेनन् । उनीहरुले सनसनीपूर्ण समाचार शीर्षक राखेर समाचारहरु बुस्ट गरिरहेका छन् ।
नेपालको भूमिमा चिनियाँ अतिक्रमण भन्ने समाचारहरु आएपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्यस्ता नक्कली विवरण उत्पादन गर्ने कारखानाबारे अनुसन्धान गर्नेसमेत बताएका थिए । अगस्त २२ मा, भारतको अग्रणी न्यूज एजेन्सी एएनआईले यही नक्कली रिपोर्टको आधारमा समाचार पुनः प्रकाशित गरेको थियो । यस समाचारलाई भारतका धेरै मिडिया आउटलेटहरूले पनि साभार गरेका थिए ।
फेरि अहिले भारतीय टेलिभिजनहरुले यी समाचारहरुलाई पुन: प्रसारण गरिरहेका छन् । यस्ता गतल तथ्यांक र सरकारले प्रष्ट पारिसकेका विषयमा भारतीय सञ्चारमाध्यमहरु रमाएको देखेर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुसमेत अचम्मित भएका छन् । उनीहरले भारतीय सञ्चारमाध्यमले कालापानी आफ्नो दाबी गरिरहेका छन् तर नेपाली भूमि चीनको कब्जामा रहेको रटान लगाइरहेका छन् ।
भारतीय सञ्चारमाध्यमहरुले यसरी एकोहोरोरुपमा नेपालविरुद्धका सामाग्री उत्पादन गर्दा दुई मुलुकबीचको सम्बन्धमा समेत समस्या उत्पन्न गराउनसक्नेमा परराष्ट्र विज्ञहरु चिन्तित बनेका छन् ।
प्रतिक्रिया