काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो ‘फेक अकाउन्ट’ खोलेर गलत सूचना सम्प्रेषण गरेको बताएका छन् ।
मंगलबार बेलुका पुनः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्ति पाएको भन्दै सबैलाई बधाई दिइएको उक्त अकाउण्ट आफ्नो नभएको उनले स्पष्ट पारेका हुन् ।
उनले आफ्नो अधिकारीक फेसबुकमार्फत भनेका छन्, “मेरो नाममा फेक अकाउन्ट खोली विभिन्न समाचारहरु सम्प्रेषण भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउँदछु ।”
मंगलबार साँझ घिसिङको नाममा खोलिएको फेक ट्विटर अकाउन्टबाट गरिएको ट्विटका कारण उनको पुनर्नियुक्तिको समाचार भाइरल बनेको थियो ।
हाल बन्द गरिएको उक्त ट्विटर ह्यान्डलबाट घिसिङ पुनःनियुक्ति भएको जानकारी गराइएको थियो । तर, घिसिङले उक्त ट्विटमा कुनै सत्यता नभएको बताएका छन् ।
प्रतिक्रिया