Pura Samachar

नेकपा एमालेले सर्लाहीका २० तहमध्ये १६ वटा तहको प्रमुखमा उठ्ने उम्मेदवार टुंगो लगायो

प्रकाशित: April 24, 2022
पूरा समाचार

नेकपा एमालेले सर्लाहीका २० तहमध्ये १६ वटा तहको प्रमुखमा उठ्ने उम्मेदवार टुंगो लगायो

सर्लाही । नेकपा एमालेले सर्लाहीका २० तहमध्ये १६ वटा तहको प्रमुखमा उठ्ने उम्मेदवार टुंगो लगाएको छ । मधेस प्रदेश कमिटीको बैठकले १६ तहका प्रमुख र ९ वटा तहको उपप्रमुखको टुंगो लगाएको प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्तले जानकारी दिए ।

एमालेले उम्मेदवार तोक्न बाँकी स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गर्ने संभावना छ ।

एमालेले सदरमुकाम रहेको मलंगवा नगरपालिका, लोसपाको प्रभाव भएको कौडेना गाउँपालिका, चन्द्रनगर गाउँपालिकामा प्रमुख र उपप्रमुख तोकेको छैन । त्यसैगरी हरिपुर नगरपालिकामा पनि दुबै पदमा कसैलाई तोकिएको छैन् ।

पन्तका अनुसार हरिवन नपामा गणेश प्रसाईं प्रमुख र हरिमाया घलान उपप्रमुख, लालबन्दी नपाको प्रमुखमा मानबहादुर खड्का र उपप्रमुखमा संसरी माया थिङ, हरिपूर्वा नपामा प्रमुख जयप्रकाश यादव र उपप्रमुखमा अंगुरी खातुन, बागमती नपामा टंकबहादुर बस्नेत प्रमुख र सरिता घिसिङ उपप्रमुखको उम्मेदवार तोकिएका छन् । त्यसैगरी कविलासी नपामा भर्खरै एमाले प्रवेश गरेका कौशल किशोर यादव र उप्रमुखमा मिनाकुमारी देवी, बलरा नपामा सचित्र सिंह प्रमुखमा र रंजु कापर उपप्रमुखमा, गौडेता नपामा श्यामबाबु साह प्रमुख र उपप्रमुख तोकिएको छैन् । बरहथवा नपामा पनि प्रमुखमात्र तोकिएको छ । नेतृ कल्पना कटुवालाई प्रमुखमा तोकिएको हो ।

चक्रघट्टा गापामा सिकेन्द्र चौधरी प्रमुख र सविना खातुन उपप्रमुख, पर्सा गापाको प्रमुखमा नागेश्वर साह, ब्रम्हपुरी गापाको प्रमुखमा रिता साह, बसवरिया गापामा रामविश्वास राय, धनकौल गापामा अजयकुमार सिंह तोकिएको पन्तले बताए ।

अहिले उम्मेदवार नतोकिएको ठाउँमा रौतहट र सर्लाहीको निर्वाचन परिचालनको जिम्मेवारी पाएको स्थायी समिति सदस्य प्रभु साह र प्रदेश उपाध्यक्ष रेवती पन्तले उम्मेदवार चयन गर्नसक्न गरी मधेस प्रदेश कमिटीले अधिकार प्रत्यायोजन गरेको छ । पन्तले आइतबार बेलुका सम्म स्थायी समिति सदस्य प्रभु साहसँग समन्वय गरेर बाँकी तहमा उम्मेदवार तोक्ने बताए । ‘केही स्थानमा लोसपासँग पनि तालमेल हुनसक्ने संभावना छ,’ पन्तले भने ।

प्रतिक्रिया