
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले स्पेनिस क्लब भिल्लारियलको सामना गर्दैछ । पहिलो लेगमा लिभरपुलले घरेलु मैदानमा २-० को जित दर्ता गरेको थियो
पहिलो लेगमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलले पहिलो हाफमा गोल गर्न सकेको थिएन । दोस्रो हाफमा अझ आक्रामक देखिएको लिभरपुलले कप्तान जोर्डन हेन्डरसनको प्रयासमा अग्रता लियो । उनको क्रस पर्भिस एस्टून्पियनलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यसको केहीबेरमा नै मोहमद सलाहको सुन्दर पासमा साडियो मानेले अग्रता दोब्बर पारे ।
भिल्लारियलले च्याम्पियन्स लिगमा सेमिफाइनलमा स्थान बनाएपनि लिगमा भने त्यसअनुसार प्रदर्शन गर्न सकेको छैन । टोली हाल लिगको सातौं स्थानमा रहेको छ । सबै प्रतियोगिताको पछिल्लो ७ खेलमा ३ जित मात्र दर्ता गरेको छ ।
यता लिभरपुल भने यो सिजन उच्च लयमा छ । टोली प्रिमियर लिगमा शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा १ अंक मात्र पछि छ । लिभरपुल एफए कपको फाइनल खेल्नुका साथै लिग कप उपाधि जितिसकेको टोली हो । पछिल्लो ७ खेलमा टोलीले ५ जित र २ बराबरी हासिल गरेको छ ।
भिल्लारियलका प्रशिक्षक उनाइ एमेरीले प्रतियोगितामा अवे गोलको नियम हटाउनुले टोलीलाई केहि फाइदा पुग्ने बताए । ‘घरेलु मैदानमा हाम्रो प्रदर्शन राम्रो छ । २ गोलले पछि परेको अवस्था कठिन हो, तर अवे गोलको नियम हट्नुले हामीलाई केहि फाइदा छ । हामी समर्थकमाझ यो अवसरको भरपुर आनन्द लिन चाहन्छु,’ उनले भने ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले खेलका लागि आफू तयार रहनुपर्ने बताए । ‘हामी उच्च प्रदर्शन गर्ने लक्ष्यसहित उत्रनेछौं । पक्कैपनि उनीहरुले पहिलो लेगमा हामीले दिएको भन्दा बढी खेल्न खोज्नेछन् । च्याम्पियन्स लिगको सेमिफाइनल सहज हुन्छ भन्ने सोच्नु हुँदैन र हुने पनि छैन । अर्को फाइनल कहिले खेलिन्छ थाहा छैन र यसपटक अवसर आएकोमा हामी सचेत हुनुपर्छ,’ उनले थपे ।
प्रतिक्रिया