Pura Samachar

अघिल्यो बर्ष भन्दा यस बर्ष धेरै वर्षा हुने

प्रकाशित: May 7, 2022
पूरा समाचार

अघिल्यो बर्ष भन्दा यस बर्ष धेरै वर्षा हुने

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरेको छ।  शुक्रवार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरिएको जनाएको हो। विभागको आकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाइँले भने, ‘गत वर्षमा हामीले ६ वटा स्टेसनमा मनसुन अवधिभरको वर्षामा रेकर्ड ब्रेक भएको पाएका छौं। चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेसनमा पहिलाको रेकर्डहरूलाई ब्रेक गरेर धेरै वर्षा मनसुन अवधिमा भएको पाउँछौं। यो मनसुन वर्षाले गत वर्षको मनसुन अवधिमा पहिरोका घटनामा ७९ जनाको निधन भएको थियो। बाढीको कारण ४३, चट्याङको कारण २७ जना र भारी वर्षाको कारणले १६ जनाको निधन भएको थियो।’

त्यस्तै जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा.अर्चना श्रेष्ठले यो वर्ष पनि सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको बेलैमा सचेत रहन आग्रह गरिन्।  वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले नेपालमा मौसम पूर्वानुमान गर्ने छुट्टै अनुसन्धान केन्द्र नहुँदा समस्या भइरहेको गुनासो गरेकी थिइन्। उनले विभागमा अनुसन्धानका लागि स्किल ह्यूमेन रिसर्चहरुको आवश्यक रहेको उल्लेख गरिन्।
आगामी मनसुन सिजनमा प्रदेश १ को उत्तरी भूभाग, मधेस प्रदेशको अधिकांश भूभाग र वागमती प्रदेका दक्षिणी भूभागहरुमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको र बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ।

प्रतिक्रिया