काठमाडौँ / नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ ।
“टेलिकमले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउनेछ”, विज्ञप्तिमा भनिएको छ, “तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु ९८ मा उपलब्ध हुनेछ, तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएससहितको ३०० एसएमएस प्याक पनि रु ९८ मा उपलब्ध हुनेछ ।”
त्यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डाटा प्याक जम्मा रु ९८ मा खरिद गर्न सकिनेछ । यही वैशाख २५ देखि जेठ ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । टेलिकमले निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरूले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा गरेको छ ।
प्रतिक्रिया