Pura Samachar

नेपालले अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने

प्रकाशित: May 18, 2022
पूरा समाचार

नेपालले अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अमेरिकामा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । नेपालले यसै महिनाको अन्तिममा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ ।

घोषणा टोलीमा किशोर महतो, सुनिल धमला र आदिल अन्सारी पहिलो पटक ओडिआई टोलीमा परेका हुन् । तीव्र गतिका किशोर महताले जिम्बावे ए सँगको तेस्रो एकदिवसिय अभ्यास खेलमा पाँच विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल एपिएफबाट घरेलु क्रिकेट खेल्ने किशोरले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।

धमलाले २०१७ पछि जिम्बावे ए विरुद्ध पुनरागमन गरेका थिए । धमलाले जिम्बावे ए सँगको दोस्रो अभ्यास खेलमा ३८ रन बनाएका थिए । नेपाल पुलिसका ओपनर धमला एकदिवसिय खेलाडी मानिन्छन् ।

आदिल अन्सारीले टि२० टोलीमा आफ्नो प्रभाव छाडि सकेका छन् । अघिल्लो महिना आदिलले मलेसिया र पपुवा न्युगिनीसँगको टि२० आई त्रिकोणात्मक सिरिजमा सानदार प्रदर्शन गरेका थिए । उनले फिनिसरको भूमिका निर्वाह गर्नेछन् ।

नेपालले पहिलो खेल वैशाख जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । यस सिरिजपछि ओमानको आइसिसी विश्वकप लिग–२ मा ३६ खेल पूरा हुनेछ । नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ ।

विश्व लिग–२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतको आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ । नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो ।

७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल ।

अमेरिकामा नेपालको खेल तालिका –


जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान

जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

प्रतिक्रिया