Pura Samachar

प्रदेश २ मा कोरोनाबाट ४ दिनमा २२ जनाको मृत्यु, ८४१ संक्रमित थपिए

प्रकाशित: August 31, 2020

प्रदेश २ मा कोरोनाबाट ४ दिनमा २२ जनाको मृत्यु, ८४१ संक्रमित थपिए

जनकपुर । प्रदेश २ मा पछिल्लो चार दिनयता कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक गर्भवतीसमेत छन् ।

भदौ ११ देखि १४ गतेसम्म प्रदेशका आठमध्ये विभिन्‍न सात जिल्लाका २२ जनाको मृत्यु भएको हो । तीमध्ये सबैभन्दा बढी बारा जिल्लाका ६ जना छन् । बाराकै २३ वर्षीया गर्भवतीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । बारामा हालसम्म कोरोना कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यो चार दिनमा दोस्रो बढी मृत्यु हुने जिल्ला पर्सा हो । पर्सामा एक महिलासहित पाँचजनाको मृत्यु भएको छ । पर्सामा मात्रै हालसम्म मृतकको संख्या ३३ पुगेको छ ।

त्यस्तै, सिरहाका तीन र सप्तरी, रौतहट तथा धनुषाका एक-एकजनाको मृत्यु भएको छ । यी जिल्लाहरुमा अहिलेसम्म मृत्यु भएकाहरुको संख्या क्रमशः सिरहामा सात, सप्तरीमा ६, रौतहटमा चार र धनुषामा १२ जना पुगेका छन् । यीसमेत प्रदेशमा कुल मृतकको संख्या ८६ पुगेको सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ ।

चार दिनमा मृत्यु भएका २२ मध्ये ९ जना ५० वर्षमुनिका छन् । चारजना ५० देखि ६० वर्ष उमेर समूहका छन् भने अर्को बाँकी ९ जना ६० वर्षभन्दा बढी उमेर समूहका छन् ।

पछिल्लो चार दिनमा यस प्रदेशमा ८४१ जना कोरोना संक्रमित थपिएका छन् । योसमेत प्रदेशमा कुल संक्रमितको संख्या १० हजार २२ पुगेको छ । तीमध्ये चार हजार आठ सय ४९ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया