Pura Samachar

उपत्यकामा निषेधाज्ञाले चहलपहल रोकिएन, कर्फ्यु लगाउने तयारी

प्रकाशित: September 1, 2020

उपत्यकामा निषेधाज्ञाले चहलपहल रोकिएन, कर्फ्यु लगाउने तयारी

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा पनि मानिसहरुको चहलपहल नरोकिएपछि काठमाडौं उपत्याकामा कर्फ्यु लगाउने तयारी भइहरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

निषेधाज्ञा थप गर्ने भन्‍ने विषयमा अहिले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठक बसिरहेको छ । बैठकपछि गृह मन्त्रालयसँग समन्वय गरेर बुधबार यस विषयमा निर्णय गरिने प्रजिअ दाहालले बताए ।

उनले यस विषयमा जनप्रतिनिधि, व्यवसायी र स्वास्थ्य विज्ञहरुको सुझाव लिइसकेको र उनीहरुबाट फरक-फरक सुझाव आएको बताए । यी विषयमा छलफल गरेर तीन वटै जिल्लाले साझा धारणा तयार गरेर गृह मन्त्रालयमा जाने प्रमुख जिल्ला अधिकारीको तयारी छ ।

यसअघिका समस्या र अनुभव गृहमा सुनाउने र परामर्श लिएर थप निर्णय लिने पनि प्रजिअ दाहालले बताए । उद्योगी व्यवसायीले भने निषेधाज्ञा समाधानको विकल्प नभएको भन्दै सतर्क रहेर व्यवसाय सञ्‍चालन गर्न पाउनु पर्ने माग गरेका छन्।

मध्यपुर ठिमीका मेयर तथा मेयर फोरमका संयोजक मदन सुन्दर श्रेष्ठले उपत्यकाका जनप्रतिनिधिले कर्फ्युको माग गरेका हुन् । “निषेधाज्ञा थपेर मात्रै हुने देखिएन, सामान जोहो गर्न लगाएर कर्फ्यु लगाउनु पर्छ,” मेयर श्रेष्ठले भने, “हामीले यही सुझाब दिएका छौं, मान्छेहरुले बढी नै अटेर गरेका छन् ।”

संक्रमण बढ्दै गए पनि सर्वसाधारण बाहिर हिँड्डुल गर्न नछाडेकाले जोखिम कम गर्न कर्फ्युको विकल्प नदेखिएको उनको बुझाइ छ । “गृह मन्त्रालयलाई जिम्मा दिएर भए पनि थप कडाइ गर्न भनेका छौं । त्यो भनेको कर्फ्यु नै नै हो,” उनले भने ।

प्रतिक्रिया