
काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकामा पर्ने भुजी खोलामा गएको बाढीले बगाउँदा बेपत्ता भएका मध्ये पाँच जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाका ६, ८ र ९ नम्बर वडा हुँदै बग्ने भुजी खोलाको बाढीमा बेपत्ता भएका मध्ये चार पुरुष र एक महिलाको शव फेला परेको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले बाढीमा बगेर बेपत्ता भएका मध्ये पाँच जनाको शव फेला परेको पुष्टि गरेको छ । प्रहरीले बाढीले पु¥याएको धनजनको क्षतिको अन्य विवरण आउन बाँकी रहेको जनाएको छ ।
बाढीले वडा नम्बर ९ मा पर्ने सुपराङ, बगालेडाँडा घट्टबोट, लाकुरीबोट, दुने पदेरा, वडा नम्बर ८ मा पर्ने दोगाडी र वडा नम्बर ६ मा पर्ने अधिकारीचौर आसपासका बस्ती बगाएको छ ।
कांग्रेस क्षेत्र नम्बर २ का सभापति द्रोणकुमार कुँवरले गएराति ११ बजे भुजी खोलामा आएको बाढी र पहिरोले बगाउँदा ३० जना बेपत्ता भएका र झण्डै ५० घर बगाएको जानकारी दिएका छन् ।
तर, राष्ट्रिय समाचार समिति (रासस) ले बाढीमा परी १२ जना बेपत्ता भएका समाचार प्रकाशित गरेको छ ।
प्रतिक्रिया