Pura Samachar

ललितपुरमा आज कर्फ्यु, घरबाहिर निस्किए गोली हान्‍न सुरक्षाकर्मीलाई आदेश

प्रकाशित: September 4, 2020

ललितपुरमा आज कर्फ्यु, घरबाहिर निस्किए गोली हान्‍न सुरक्षाकर्मीलाई आदेश

ललितपुर । कोरोना महामारी नियन्त्रणमा लागि जारी गरिएको निषेधाज्ञा उल्लंघन भएपछि ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रशासनले एक सूचना जारी गर्दै भनेको छ, “हाल विश्वव्यापि महामारीको रुपमा रहेको कोभिड-१९ को संक्रमण बढ्न सक्ने सम्भावनाबाट सिर्जित कठिन परिस्थिति रहिरहेको समयमा केही उच्छृङ्खल समूह र व्यक्तिहरुले कठिन परिस्थितिको नाजायज फाइदा उठाई धार्मिक, सांस्कृतिक विश्वासमा खलल पुयाई शान्ति सुरक्षा भङ्ग गर्ने हेतुले गैरकानुनी हर्कत गरेको पाइएकोले सो अवस्थाबाट शान्ति सुरक्षा भङ्ग हुन सक्ने देखिएकोले स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ क (१) बमोजिम कर्युको आदेश जारी गरिएको छ ।”

कर्फ्यु ललितपुर जिल्लाको ललितपुर महानगरपालिका भित्र वल्खु देखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा भदौ १९ गते बिहान ४:०० बजेदेखि राति १०.०० बजे सम्म लागु हुने जनाइएको छ ।

त्यसैगरी कर्फ्यु आदेश जारी भएको क्षेत्रभित्र उपरोक्त मिति र समयमा आवातजावत गर्न, भेला हुन र जुलुश निकाल्ने जस्ता कामकारवाही गर्न निषेध गरिएको छ ।

यो आदेशको उल्लंघन गरी घरबाट बाहिर निस्केमा वा अन्य काम गरेमा सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारीले गोलीसमेत हान्‍न सक्ने आदेश दिइएको छ ।

कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा आज रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो ।
स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो ।

निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए । शान्तिसुरक्षा र चमनचयन कायम राख्‍न कर्फ्यु जारी गरिएको जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया