काठमाडौँमा थपिएका ४ कोरोना सङ्क्रमितमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा उपचाररत भएको खुलेको छ। सङ्क्रमितमध्ये दुई जना नेपाल प्रहरीका हुन्। बाँकी एक जना भने नेपाल प्रहरी परिवार सदस्य भएको खुलेको छ।
स्वास्थ्य मन्त्रालयले शनिवार काठमाडौँमा चार जनामा कोरोना पोजेटिभ देखिएको जनाएको थियो। अस्पतालमा नै कोरोना सङ्क्रमित भेटिएपछि महाजगञ्जस्थित प्रहरी अस्पताल अहिले सिल गरिएको छ। सङ्क्रमित बिरामीको सम्पर्कमा आएका चिकित्सक तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको छ।
‘केही समय क्वारेन्टाइनमा राखिन्छ। अस्पताललाई डिसइन्फेक्ट गरेपछि सञ्चालनमा ल्याइने छ,’ प्रहरी अस्पताल प्रमुख एआइजी डाक्टर आशा सिंहले भनिन्।
अस्पतालमा कार्यरत ३० जना नर्सहरूलाई क्वारेन्टाइनमा राखिएको छ। सङ्क्रमित बिरामीहरूलाई अस्पतालको तीन वटा वार्डमा राखिएको थियो। अहिले दुई जनालाई सशस्त्र प्रहरीको बलम्बुस्थित कोरोना विशेष अस्पतालमा लगिएको छ। बाँकी एक जनालाई भने त्रिवि शिक्षण अस्पताल टिचिङ अस्पताल लगिएको एआइजी सिंहले जानकारी दिइन्।
सङ्क्रमित प्रहरीमध्ये एक जना अस्पतालमा कार्यरत र एक जना उपचारका लागि अस्पतालमा भर्ना भएको खुलेको छ। एक जना ल्याबमा काम गर्ने प्रहरी हुन्। पछिल्लो समयमा ड्युटीमा खटिएका प्रहरीहरू पनि सङ्क्रमित बन्दै गएका छन्। जेठ ६ गते महानगरीय प्रहरी वृत्त कालीमाटीमा खटिएका दुई प्रहरीमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि वृत्त नै सिल गरेर डिएसपी सहित २ सय ३१ जना प्रहरीको कोरोना परीक्षण गरियो। तर, सबैको रिजल्ट नेगेटिभ आयो।
अहिले सङ्क्रमित प्रहरी उपचार गरेर ड्युटीमा खटिसकेका छन्।
प्रतिक्रिया