
एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएईं) माथि जित निकाल्दै अष्ट्रेलिया फिफा विश्वकप कतार २०२२ को छनोट नजिक पुगेको छ । एसियाली क्षेत्रको प्ले अफमा युएईंलाई २–१ ले पराजित गर्दै अष्ट्रेलिया विश्वकपको छनोट नजिक पुगेको हो ।
कतारमा मंगलबार राति भएको खेलमा अष्ट्रेलियाको जितमा ज्याक्सन इर्भिन र एज्दिन रुस्टिकले गोल गरे । युएईंका काइओले एक गोल फर्काए । अहमेद विन अली स्टेडियममा प्रतिस्पर्धात्मक खेलमा सबै तीन गोल दोस्रो हाफमै सम्भव भएको थियो ।
५३औं मिनेटमा ज्याक्सनले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाए । तर, अष्ट्रेलियाको त्यो अग्रता लामो समय टिकेन । ५७औं मिनेटमा काइओले बराबरी गोल फर्काए । त्यसपछि ८४औं मिनेटमा एज्दिनले गोल गर्दै टोलीको जित पक्का गरे ।
अब अष्ट्रेलियाले विश्वकपमा स्थान बनाउन अन्तर्राष्ट्रिय प्ले अफमा दक्षिण अमेरिकी प्रतिद्धन्द्धी पेरुसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया