Pura Samachar

ललितपुरमा आजदेखि पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा भेला हुन नपाउने

प्रकाशित: September 5, 2020

ललितपुरमा आजदेखि पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा भेला हुन नपाउने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरपालिकामा पाँच जनाभन्दा बढी मानिसहरु जम्मा हुन प्रतिबन्ध लगाएको छ ।

ललितपुर प्रशासनले शनिबारदेखि एक सातासम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) बमोजिम पाँच जनाभन्दा बढी मानिसहरु जम्मा हुन नपाउने आदेश जारी गरेको हो ।

उक्त आदेश शनिबारदेखि भदौ २६ गतेसम्म बिहान ५ बजेबाट राति १० बजेसम्म लागु हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन् ।

प्रशासनले जारी गरेको सार्वजनिक सूचनामा रातो मच्छिन्द्र नाथको रथ रहेको आसपासको क्षेत्रको पूर्वमा मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तरमा बखुण्डोल चोकसम्म यो आदेश लागु हुने उल्लेख छ ।

यस्तै मीन नाथको रथ रहेको आसपासको क्षेत्र पूर्वमा मंगल बजार चोक, पश्चिममा मदन स्मारक स्क्ुल अगाडिको चोक, दक्षिणमा पूर्णचण्डी मन्दिर र उत्तरमा पिमबहालसम्मको क्षेत्रमा पनि पाँच जनाभन्दा बढी मानिसहरु जम्मा हुन नपाइने भएको छ ।

प्रतिक्रिया