सनातन हिन्दू धर्ममा अनेक शास्त्र र अनेक मत पाइन्छन् । एउटै कुरालाई पनि कुनै शास्त्रले विधि र कुनै शास्त्रले निषेध गरेका छन् । सबै शास्त्र र सबै मतको अवलम्बन न गर्न सकिन्छ न व्यवहारिक हुन्छ । आफ्नो वंश/गोत्रले मानेको वेद, शाखा, सूत्र, स्मृति आदिले निर्देश गरेका पूजा/श्राद्धकर्महरू गर्दै त्यहि विधिहरूलाई नै हामीले अवलम्बन गर्ने हो । तसर्थ अहिलेको महालयपार्वण श्राद्ध स्वशाखा, सूत्र आदिको अवलम्बन गरेर गर्नुपर्छ । यसमा दुइमत छैन ।
कुनै एक कालखण्डमा बनेको शास्त्रले भविष्यमा आउने सबै व्यवहारिक कठिनाइका कुराहरूलाई समेट्न सक्दैन । देश, समय, काल, परिस्थिति आदि अनेक अवयवहरूले व्यक्तिको कर्म गर्ने सक्षमताको निर्क्योल गर्छ । शास्त्रले भनेका सबै विधिहरू अहिले मान्न सक्ने स्थिति पनि अहिलेको समयमा व्यवहारिक देखिँदैन ।
१. नदी, तलाउ, धारा, इनार आदिमा गएर स्नान गर्नुपर्ने शास्त्रीय वचन अहिले कसरी पूरा हुन सक्छ ? ट्यांकीमा जम्मा गरेको पानीले बाथरूममा बसेर स्नान गर्ने विधि कुन शास्त्रमा वर्णन छ ?
२. धारामा पानी नआएर जारमा भरेको बासी पानी खानुपर्ने समयमा शास्त्रको हवाला दिँदै अनलाइन पूजा/श्राद्ध गर्नु हुँदैन, यो शास्त्रीय विधि होइन भन्नेहरूले माथिका व्यवहारिक कष्टको शास्त्रीय निरूपण कसरी हुन्छ ?
३. श्राद्धकर्म गर्दा यजमानले आफ्नो कपाल खौरिएर गर्नुपर्ने शास्त्रीय विधि विपरीत अहिले कपाल नकाटिकन श्राद्ध गर्ने संख्या हाम्रो आँखा अघि बढिरहेको छ । यजमान/ब्राह्मणले मान्नुपर्ने सामान्य शास्त्रीय नियम पनि नमानिकन अहिलेसम्म श्राद्धादि कर्म भइरहेको छ । यसलाइ कसरी हेर्ने ?
४. शास्त्रले व्यवस्था गरेको नियम अनुसार अहिले शुद्ध ब्राह्मण अप्राप्यः जस्तै छ । शास्त्रले भनेको जस्तो नित्य सन्ध्या वन्दन गर्ने, लसुन प्याज छ्यापि, आदि अभक्ष्य नखाने, मद्यादि अपेय ( चुरोट, खैनी जस्ता कुरा ) नपिउने, टुप्पी राखेको, मासु, नुन, दुध, दही, मद्य, पानी, पकाएको अन्न आदि बिक्री वितरण ( व्यापार) नगर्ने, विदेश( समुद्रपार म्लेच्छ देश) नजाने, विजातिहरूसँग सहभोज ( सँगै भोजन )नगर्ने, जागिर नखाएको, ज्योतिष काम नगर्ने आदि ब्राह्मण अहिले खोजेर न पाइन्छ न व्यवहारिक हुन्छ । शुद्ध ब्राह्मणको व्यवस्था कसरी गर्ने ?
५. यजमानले एउटा जनै त मन्त्रपूर्वक विनियोग गरेर लाउन नसक्ने अवस्थामा एउटा कुरामा विधि खोज्ने अरू कुराहरूमा आँखा चिम्लने गरेर सनातन धर्मको रक्षा कसरी हुन्छ ?
५. अहिले धेरैतले अपार्टमेन्टमा बस्ने र त्यही बसेको अपार्टमेन्ट नै घर मान्ने/हुने कानुनी अवस्थामा त्यहीँ बसेको स्थानमा नै श्राद्धादि कर्म गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थामा श्राद्ध गाइको गोठ, तीर्थ, भुँइमा नै गराउनुपर्ने नियमको शास्त्रीय निरूपण कसरी हुन्छ ?
६. यजमानले सधैँ लगाइरहनु पर्ने जनै त जनैपूर्णिमाको एक दिन लगाएर अरूदिन ट्वाइलेटको कीलामा झुण्ड्याउने घटनाको साक्षात्कार सबै गुरूहरू हुनुहुन्छ । जसले यस्तो घटना अलिअलि मात्रै हो भन्ने ठान्नुहुन्छ उहाँहरू कुवाको भ्यागुतो जसरी एउटा राग मात्र आलापेर बस्ने, घटनालाइ नदेखे जसरी आँखा चिम्लिने हुटिट्याउँको चाला मात्र हो । यो कसैलाई आक्षेप होइन तर वास्तविक घटना र व्यवहार समाजमा यसैगरी घटिरहेको छ । यस्ता कुराहरूलाइ नजरअन्दाज गर्न सकिन्छ ?
७. शास्त्रले ब्राह्मणलाइ दिने दक्षिणाको परिमाण र परिभाषा (गाइ वा स्वर्णमुद्रा) पनि त्यसै गरी अहिलेको समयमा दिन/गर्न सकिन्छ ?
अहिले शुद्ध गाइको दुध वा गव्य (दुध, घिउ, गोबर, गहुँत ) त नपाइने यो समयमा एउटा कुरामा शास्त्रको अड्चन देखाएर शास्त्रले अनलाइन कर्म गर्नु भनेको छैन भनेको रूढी कुरा मात्र हो । हजारौं वर्षअघि बनेको शास्त्रमा न इन्टरनेटको कुरा छ न मोबाइल, ल्यापटप आदि प्रविधिको । अनि शास्त्रले इन्टरनेट, मोवाइल आदि चलाउने विधि नै गरेको छैन भनेर त्यसबाट अहिलेको समयमा टाढा बस्न सकिन्छ?
अहिले इन्टरनेटको कारणले विश्व एउटा सानो देशमा खुम्चिएको अवस्था छ । विश्ववन्धुत्वको भावना पहिले भन्दा अहिले अझ बढेको छ । आततायी धर्मको आक्रमण पनि तीव्ररूपमा भइरहेको छ । यस्तो अवस्थामा सनातन धर्मको कर्मकाण्डलाइ अहिलेको व्यक्तिले मान्नसक्ने गरी परिमार्जन वा सहजीकरण गर्दा मात्रै धर्म पछिसम्म बच्ने हो ।
सनातन हिन्दु धर्मको विभिन्न कालखण्डमा यस्तै व्यवहारिक समस्या आएको र त्यसलाई निराकरण गर्न त्यसबेलाका ऋषि, पुर्खाहरूले त्यसबेला गरिने विधिलाइ केही खुकुलो बनाउँदै लगेर धर्मलाइ मानिसको जीवनमा जोड्न गरेको प्रयाशलाइ हामीले अनुसरण गर्नु नै पर्छ ।
शास्त्रमा विकल्प, अनुकल्प आदिको व्यवस्था आपतकाल आदिको समयमा गरिएको हो । अहिलेको आपतकालीन अवस्थामा जहाँ राज्यले निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै छ । यस्तो अवस्था अझै लामो समयसम्म हुन सक्ने आंकलन गर्न सकिन्छ । विकल्प, अनुकल्पको रूपमा अरू दिनहरूमा गर्न सक्ने समयसीमा पनि नघर्केला भन्न सकिन्न । यस्तो अवस्थामा नियमित समयमा नै विकल्पहरूको प्रयोग गरेर श्राद्ध आदि कर्म गर्नु श्रेयष्कर हुन्छ ।
प्रतिक्रिया