Pura Samachar

एएफसी एसियन कप छनोटमा नेपाल पराजित

प्रकाशित: June 9, 2022
पूरा समाचार

एएफसी एसियन कप छनोटमा नेपाल पराजित

एएफसी एसियन कप छनोटमा नेपाल पराजित भएको छ। बिहिबार तेस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले जोर्डनसँग पराजय बेहोरेको हो।

कुवेतको जाबेर अल-अहमद अन्तर्राष्ट्रिय रंगशालामा खेलको अन्तिम नतिजा २-० गोलको रह्यो। जोर्डनको जितमा अलि ओल्वान र हम्जा अल दार्दोरले गोल गरेका थिए।

पहिलो हाफको अन्त्यतिर गौतम श्रेष्ठले जोर्डनका मोहम्मद फैसललाई बक्सभित्र फल गरेपछि जोर्डनले पेनाल्टी प्राप्त गर्‍यो। तर, मुसा मोहमद सुलेमानले लिएको उक्त पेनाल्टी ‘डेब्युटान्ट’ गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गरे।

दोस्रो हाफको ६९ औं मिनेटमा जोर्डनले सुरुवाती अग्रता बनायो। अलि ओल्वानले सुन्दर फिनिस गर्दै जोर्डनलाई अघि बढाएका थिए। यस्तै ८२औं मिनेटमा खेलको दोस्रो पेनाल्टी मार्फत जोर्डनले अग्रता दोब्बर बनायो। सुमन अर्यालले दिएको पेनाल्टीलाई हम्जा अल दार्दोरले सदुपयोग गरेका थिए।

अब नेपालले छनोटको दोस्रो खेलमा आगामी शनिबार कुवेतको सामना गर्नेछ। छनोट अन्तर्गत कुवेतले आफ्नो पहिलो खेलमा इन्डोनेसियासँग २-१ गोलको हार बेहोरेको थियो। तेस्रो चरणको छनोटमा २४ टोली ६ समुहमा विभाजन भएर प्रतिस्पर्धा गरिरहेका छन्।

हरेक समुहका शिर्ष टोली र ५ उत्कृष्ट दोस्रो हुने टोली गरि ११ टोलीले एसिया कपको बाकी स्थान लिनेछन्।

प्रतिक्रिया