Pura Samachar

पाकिस्तान पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेटको विजय

प्रकाशित: June 9, 2022
पूरा समाचार

पाकिस्तान पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेटको विजय

काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजम विपक्षी बलरका लागि निरन्तर खतरनाक बन्दै गएका छन् । बाबरले बुधबार राति अर्को शतक बनाएपछि पाकिस्तानले वेष्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेटको विजय हासिल गरेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरको यो लगातार तेस्रो शतक हो । यससँगै बाबर दोस्रो पटक लगातार तीन शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । २७ वर्षे बाबरले यसअघि अष्ट्रेलियाविरुद्ध लगातार दुई शतक बनाएका थिए । त्यस्तै बाबरले यसअघि २०१६ मा पनि लगातार तीन शतक बनाएका थिए । त्यतिबेला तीनै शतक वेष्ट इन्डिजविरुद्ध बनाएका थिए ।

बाबर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो १७ विकेट पूरा गर्ने खेलाडी पनि बन्न सफल भएका छन् । उनले भातका पूर्व कप्तान विराट कोहलीको कीर्तिमान पनि तोडेका छन् । बाबर सबैभन्दा चाँडो १ हजार एकदिवसीय अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी बनेका छन् । बाबरले १३ इनिङ्समा १ हजार रन बनाएका छन् भने कोहलीले १७ इनिङ्स खेलेका थिए ।

मुल्तान क्रिकेट रंगशालामा आईसीसी वरीयाताको नम्बर एक बाबरले १०३ रन बनाएपछि पाकिस्तानले ३०६ रनको लक्ष्य चार बल बाँकी हुँदा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०५ रन बनाएको थियो ।

पाकिस्तानका ओपनर फखर जमान ११ रन बनाएर आउट भएका थिए । अर्का ओपनर इमाम उल–हक र बाबरले दोस्रो विकेटका लागि १०३ रनकै साझेदारी गरेपछि पाकिस्तान जितउन्मुख भएको थियो । उल–हक ६५ रन बनाएर आउट भए । उनले ७१ बलमा ६ चौका प्रहार गरे ।

त्यसपछि बाबरले मोहम्मद रिजवानसँग तेस्रो विकेटका लागि १०८ रनको साझेदारी गरे । १०७ बलमा ९ चौका प्रहार गरेका बाबर १०३ रन बनाएर पवेलियन फर्किए । रिजवानले ६१ बलमा दुई चौका र एक छक्कासहित ५९ रन बनाए ।

खुशदील शाहले आक्रमक ब्याटिङ गर्दै पाकिस्तानको इनिङ्स सकाएका थिए । शाहले २३ बलमा एक चौका र चार छक्का प्रहार गर्दै अविजित ४१ रन बनाए । शादब खानले ६ रन बनाउँदा मोहम्मद नवाज ८ रनमा अविजित रहे ।

वेष्ट इन्डिजका अल्जारी जोसेफले दुई विकेट लिए । अकिल होसैन, रोमारियो शेफर्ड र जयदेन सिलेसले एकएक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको वेष्ट इन्डिजका ओपनर शाई होपले १२७ रन बनाएका थिए । होपले १३४ बलमा १५ चौका र एक छक्का प्रहार गरे । शमराह ब्रुक्सले ७० रन बनाउँदा निकोलस पूरनले २१ रन बनाए । रोभमन पावेलले ३२ रन बनाउँदा शेफर्डले २५ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका हरिस रौफले ४ विकेट लिए । शाहीन साह अफ्रिदीले दुई विकेट लिए भने मोहम्मद नवाज र शादब खानको नाममा एक एक विकेट रह्यो ।

प्रतिक्रिया