
काठमाडौं- सरकारले वैशाख १८ गते नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गरेपछि असन्तुष्ट बनेका एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दाको सुनुवाई सोमबार हुँदैछ।
आईजी सिंह र नेपाल सरकारलाई विपक्षी बनाउँदै वैशाख १९ थते सर्वोच्च अदालतमा रिट दायर पोखरेलको प्रहरी सेवाको भविष्यबारे सोमबार फैसला हुने भएको हो। उनको मुद्दाको यसअघि जेठ १७ गते नै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यसदिन सुनुवाइ हुन सकेको थिएन।
अवकाश भइसकेका तीन डीआईजीको मुद्दाका कारण सुनुवाइ प्रभावित भएपछि सार्न नमिल्ने गरी सोमबारका लागि पेसी तोकिएको थियो। यसअघि वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदश दिन अस्वीकार गर्दै जेठ १७ गतेलाई अर्को पेसी तोकेको थियो।
१७ गते न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परे पनि डीआईजीको मुद्दामा म्याद तामेलि नहुँदा सुनुवाइ रोकिएको थियो। अहिले म्याद तामेल भइसकेको छ। आईजीपीको रिटमा पनि लिखित जवाफ बुझाइसकेका छन्।
सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए। सर्वोच्चले पोखरेलको पक्षमा फैसला नगरे उनी राजीनामा दिने तयारीमा छन्। एआईजीको उमेर हदका कारण साउन २० गते अनिवार्य अवकास हुनेछन्।
एआईजी पोखरेलले १८ गते नै बिदा हुँदै गरेका आईजीपी शैलेश थापा क्षेत्रीलाई ३० दिनको बिदा स्वीकृत गराएका थिए। यसबीचको सार्वजनिक विदासहित जोड्दा उनको बिदा गत मंगलबारदेखि सकिएको छ।
तर, बुधबार उनी प्रहरी प्रधान कार्यालय हाजिर भएनन्। प्रहरी प्रधान कार्यालयमा सहयोगीमार्फत बिदाका लागि निवेदन दिए पनि आईजीपी सिंहले उनको बिदा अस्वीकृत गरेका थिए।
विश्वराज धीरजप्रतापलाई आईजीपी मान्न पनि तयार छैनन्। सर्वोच्चमा उनले आफैं आईजीपी हुनुपर्ने माग छ। उनी अहिले बिदा स्वीकृत नहुँदा पनि हाजिर भएका छैनन्। विश्वराज ४० दिन बिदा बसिसकेका छन्। देशभर प्रहरीलाई प्रसुती बिदा र किरिया विदा बाहेक विदा नलिन सर्कुलर हुँदा पनि उनी बिदामा थिए।
बिदा अस्वीकृत हुँदा अथवा बिना जानकारी उनी गयल भए प्रहरी नियमावलीअनुसार प्रहरी प्रधान कार्यालयले यति दिन भित्र कार्यालयमा हाजिर हुन आउनु भनेर सार्वजनिक सूचना जारी गर्न सक्छ। वा त्यसपछि हेडक्वार्टरले स्पष्टीकरण सोध्न र कारबाही सिफारिस गर्न सक्छ।
पोखरेल बिदामा छँदै सरकारले उनलाई
सरुवा गरिसकेको छ। यसअघि महत्वपूर्ण मानिने मानव स्रोत विभागमा कार्यरत पोखरेललाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ।
बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएपछि पोखरेलले मिसिलमा बिदा मागेको प्रमाण पनि मिसिलमा संलग्न गराएका छन्। उनलाई सर्वोच्चले एआईजी नबनाए राजीनामा गरेर घर फर्किनेछन्। यदि फैसला उनको पक्षमा आए पोखरेल आईजी हुनेछन् भने सिंहले घर जानुपर्ने हुन्छ। तर, यो सम्भावना निकै कम देखिन्छ।
प्रतिक्रिया