Pura Samachar

ग्लोबल आइएमई र बीओके बराबरी हैसियतमा मर्जरमा जाने सम्झौता

प्रकाशित: June 16, 2022
पूरा समाचार

ग्लोबल आइएमई र बीओके बराबरी हैसियतमा मर्जरमा जाने सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एकआपसमा गाभ्न गाभिनको लागि बिहीबार प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जरपश्चात् बन्ने नयाँ बैंकको नाम ‘ग्लोबल आइएमई बिओके लिमिटेड’ हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ ।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१

को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा ‘क’ वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५२.२९ अर्ब, चुक्तापूँजी रु. ३४.४१ अर्ब, कूल निक्षेप रु. ३८४ अर्ब, कूल कर्जा रु. ३८० अर्बसहित कुल पूँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ ।

साथै, दुवै बैंकले जेठ मसान्तसम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् । दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ३७ लाखभन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक बन्नेछ ।

दुवै बैंकहरु एकआपसमा गाभिएपश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया