काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउन अवधिमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि झण्डै साढे तीन हजारभन्दा बढी हिंसाका घटनाहरु भएका छन् ।
सरकारले लागु गरेको लकडाउन अवधिमा गत चैत दोस्रो सातादेखि साउन पहिलो सातासम्म देशभर तीन हजार छ सय ६१ वटा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हिंसाका घटना भएका हुन् ।
नेपाल प्रहरीले गत चैत ११ गतेदेखि साउन ३ गतेसम्म देशभर जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बहुबिबाह, बोक्सीको आरोप, अवैध गर्भपतन, जातीय छुवाछुत, घरेलु हिंसा, आत्महत्यालगायत गरी तीन हजार छ सय ६१ वटा घटनाहरु भएका जनाएको छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउन अवधिमा देशभर जबरजस्ती करणीका छ सय ३२ वटा घटना भएका छन् । त्यस्तै जबरजस्ती करणी उद्योगका एक सय ६९ घटना प्रहरीमा दर्ता भएका देखिएको छ ।
जबरजस्ती करणीका घटनाहरु सबैभन्दा बढी प्रदेश १ मा एक सय ५० र सबैभन्दा कम कर्णालीमा ३७ प्रतिशत देखिएको छ । यस्तै जबरजस्ती करणी उद्योगमा सबैभन्दा बढी प्रदेश १ मा ४७ र सबैभन्दा कम कर्णाली प्रदेशमा १३ वटा घटना दर्ता भएका छन् ।
लकडाउन अवधिमा देशभर एक हजार एक सय ९० जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । आत्महत्यामा पनि प्रदेश १ को तथ्यांक सबैभन्दा धेरै देखिएको छ ।
गत चैत ११ गते साउन ३ गतेसम्म प्रदेश १ मा दुई सय २६ जनाले आत्महत्या गरेका छन् । यस्तै उक्त अवधिमा कर्णाली प्रदेशमा सबैभन्दा कम ६४ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ ।
प्रहरीले यो अवधिमा वाग्मती प्रदेशमा सबैभन्दा धेरै महिला हिंसाका घटनाहरुको उजुरी दर्ता भएको जनाएको छ । प्रहरीका अनुसार वाग्मती प्रदेशमा चार सय ४४ वटा घरेलु हिंसाका उजुरीहरु दर्ता भएका छन् ।
वाग्मतीपछि प्रदेश २ मा सबैभन्दा धेरै महिला हिंसाका घटनाहरुको उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रदेश २ मा चार सय ३१ जटा घरेलु हिंसाका उजुरीहरु दर्ता भएका छन् ।
प्रतिक्रिया