काठमाडौं । कारागारका कैदीबन्दीलाई समेत कोरोना संक्रमण देखिन थालेपछि कारागार व्यवस्थापन विभागलाई चुनौती थपिएको छ । सयौंको संख्यामा कारागारभित्र बस्ने कैदीबन्दीमै कोरोना देखिएपछि उनीहरुको सुरक्षा र उपचार प्रक्रिया चुनौती थपिएको हो । हालसम्म १४ कारागारका कैदीबन्दीमा कोरोना देखिएको छ भने तीन कारागारका संक्रमित निको भइसकेका छन् ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाका अनुसार हालसम्म पर्सा कारागारमा ३३, बाँकेमा ८, सिरहामा ७, सुनसरीमा ९, केन्द्रीय कारागारमा ६३, सिन्धुपाल्चोकमा २, स्याङ्जामा १, पाँचथरमा १, सप्तरीमा ६, जुम्लाका ४ र ललितपुरस्थित नख्खु कारागारका २ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४ जनाको मृत्यु भएको छ भने ५३ जना उपचारमा छन् । नेपालका सबैजसो कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । संक्रमितमा सबैभन्दा बढी केन्द्रीय कारागार जगन्नाथदेवलमा ६३ जना छन् । केन्द्रीय कारागारमा ३१ सय बढी कैदीबन्दी छन् ।
कसरी पस्यो कारागारमा कोरोना ?
विभागका सूचना अधिकारी देवर्षी सापकोटाका अनुसार कैदीबन्दीलाई बाहिरी सम्पर्कबाटै कोरोना संक्रमण देखिएको हो ।
उनले भने, “कारागार आफैंमा आइसोलेसन हो । तर कतिपय कैदीबन्दीलाई अदालत,अस्पताल लैजानुपर्ने हुन्छ । यस्तोमा उनीहरुको सम्पर्क सुरक्षाकर्मी र अन्य बाहिरी व्यक्तिसँग हुन जान्छ । त्यहींबाट उनीहरुमा कोरोना संक्रमण देखिएको हुनसक्छ ।”
हाल संक्रमण देखिएका ११ वटा कारागारको सुरक्षामा खटिएका ९३ सुरक्षाकर्मीमा समेत कोरोना देखिएको सापकोटाले बताए ।
नयाँ कैदीबन्दीको अनिवार्य जाँच
कारागारमा दैनिक नयाँ कैदीबन्दी थपिने क्रम जारी रहन्छ । यस्तोमा नयाँ आउने कैदीबन्दीको अनिवार्य कोरोना परिक्षण लागु गरिएको छ । यसबाहेक नयाँलाई छुट्टै राख्ने व्यवस्था मिलाइएको छ । कारागारभित्रै क्वारेन्टिन र आइसोलेसन कक्षसमेत निर्माण गरिएको छ । स्वास्थ्यमा समस्या आए तत्काल जाँचका लागि केन्द्रीय कारागारमा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको सूचना अधिकारी सापकोटाले बताए ।
भेटघाट र कैदीबन्दी स्थानान्तरण बन्द
कोरोना संक्रमण फैलिँदै गएपछि कारागारहरुमा समेत सतर्कता अपनाइएको छ । यसअघि कैदीबन्दीका आफन्तलाई भेट्न दिने गरिएको भएपछि हाल भेटघाटमा पूर्ण रुपमा रोक लगाइएको छ । सापकोटाका अनुसार यसअघि आफन्तले खानेकुरा ल्याइदिने गरेका थिए । त्यसलाई पनि अहिले रोकीएको छ । यसबाहेक एक कारागारबाट अर्को कारागारमा कैदीबन्दीको स्थानान्तरणमा अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको छ ।
कारागारभित्रै दूरी कायम गर्ने, साबुनपानीले नियमित हात धुनेलगायत सचेतनाका कामहरु पनि भइरहेको सापकोटाले बताए ।
प्रतिक्रिया