Pura Samachar

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढायाे ,पेट्रोल लिटरमा २१ रूपैयाँ, डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ

प्रकाशित: June 20, 2022
पूरा समाचार

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढायाे ,पेट्रोल लिटरमा २१ रूपैयाँ, डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ।एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ।

हवाइ इन्धन (आन्तरिक र बाह्य) को मूल्य पनि सरकारले बढाएको छ। हवाइ इन्धन आन्तरिकमा लिटरको १९ रूपैयाँ र बाह्यमा प्रतिकिलो लिटर १०० अमेरिकी डलर बढाइएको निगमले जनाएको छ।

यसअघि जेठ २६ गते मात्र निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) पछिल्लोपटक पठाएको मूल्य सूचीअनुसार समायोजन गरेर भाउ बढाइएको बताएको छ।

आइओसीले असार २ गते पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६.५२ रूपैयाँ र डिजेल १९.०३ रूपैयाँ बढेको छ। योसँगै आफ्नो खरिद लागत पेट्रोलमा प्रतिलिटर २१२.५८ रूपैयाँ र डिजेलको २०५.९५ रूपैयाँ पुगेको निगमले जनाएको छ। हवाइ इन्धनमा पनि आइओसीले लिटरको १९.९१ रूपैयाँ बढाएर पठाएको छ।

निगमका अनुसार प्रतिसिलिन्डर एक हजार ८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा पनि उसलाई ७५१.१४ रूपैयाँ घाटा छ। ग्यासको खरिद लागत २५५१.१५ रूपैयाँ छ।

यो मूल्यअनुसार समायोजन नगरी बेच्दा १५ दिनमा चार अर्ब ८१ करोड घाटा भएको भन्दै आइतबार मध्यरातमा निगमले भाउ बढाएको हो।

नयाँ मूल्यमा बेच्दा पनि १५ दिनमा दुई अर्ब ३५ करोडभन्दा धेरै घाटा हुने निगमले बताएको छ।

निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ।

निगमका अनुसार मट्टीतेलमा लिटरको ४३.०६ रूपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ १३.६१ रूपैयाँ र बाह्यतर्फ ५६.५७ रूपैयाँ नाफा छ। अहिले मट्टीतेलको खरिद लागत १९२ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फको १७१.३९ रूपैयाँ र बाह्यतर्फको १४८.३२ रूपैयाँ छ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

प्रतिक्रिया