Pura Samachar
  • आफूलाई असफल सावित गर्दै बाहिरिए डा. खतिवडा

    प्रकाशित: ३ हप्ता पहिले

    आफूलाई असफल सावित गर्दै बाहिरिए डा. खतिवडा

    अमेरिका । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले जागिरको शुरुवात शिक्षकबाट गरेका थिए । राष्ट्र बैंकमा जागिर हुँदा पनि उनले बेला बेलामा पढाउने गर्थे । अर्थमन्त्रीको उच्चपदमा साढे २ बर्ष काम गरेर बिदाइ हुँदा पनि उनले शिक्षकले कक्षामा सुझाव दिएजस्तै यसो गर्नुपर्छ उसो गर्नुपर्छ भन्दै बिट मारे ।

    डा. खतिवडाले अब यसो गर्नुपर्छ यस्तो नीति लिनुपर्छ भन्नुको कुनै अर्थ पनि छैन । उनी लामो अनुभवलाई कार्यान्वयन गरेर देखाउने ठाउँमा पुगेका थिए ।  तर, उनी खास छाप नछाडि अर्थमन्त्रीको कार्यकाल बिट मारे ।  डा. खतिवडाभन्दा अघिका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र उनका बीचको कार्यकाल कति फरक रह्यो भन्ने प्रश्नको उत्तरसमेत सजिलै दिन सक्ने अवस्था छैन ।

    सत्तारुढ पार्टीभित्रको समीकरणका कारण खतिवडाले पद छाड्नुपरेको हो । तर, खतिवडाको राजीनामाले अर्थतन्त्रका लागि राम्रो योगदान गरेको छ किनकि उनलाई निरन्तरता दिनुपर्छ भन्नेमा एकादुई पार्टीभित्रकैबाहेक कोही थिएनन् ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको निरन्तरताको लागि समाजिक सञ्जालमा आगो बल्यो ।

    कार्यकाल सकिएका कुलमानलाई बिदाइ गर्न सरकारलाई सकस छ ।  मानौं कुलमानकै जस्तै सामाजिक सञ्जालमा अर्थमन्त्रीको पक्षमा आगो बलेको भए के हुन्थ्यो ।  वामदेव गौतमको पनि केही लाग्थेन । डा. खतिवडा सफल अर्थमन्त्री होइनन् भन्न सक्ने मुख्य आधार यही हो ।  गरिब देशको अर्थमन्त्री लोकप्रिय हुन सक्दैन भन्ने पुरानो राग अलाप्दै आफुलाई सफल देख्नु आत्मरति मात्र हो । अर्थमन्त्रीको बहिर्गमनले निजी क्षेत्रमात्र होइन अर्थतन्त्रप्रति चासो राख्ने प्रायः सबैले सकारात्मकरुपमा लिएका छन् ।

    अर्थमन्त्रीका रुपमा डा. खतिवडालाई राम्रो काम गरेर गए भन्ने होइन इमान्दार चाहिँ थिए है भन्नेहरु छन् ।  अर्थमन्त्री पद पाएलगत्तै उनले आर्थिक स्वेतपत्र ल्याएका थिए । उक्त स्वेतपत्रमा नेपालको अर्थतन्त्रको नकारात्मक अवस्था चित्रण गरिएको थियो ।  डा. खतिवडाले छाडेर जाँदा पनि अर्थतन्त्र लगभग उही अवस्थामा छ ।
    एकदुई तथ्यांक तलमाथि भएका छन् तर अर्थतन्त्रको संरचनात्मक आधारमा कुनै फरक परेको छैन ।

    नेपालको अर्थतन्त्र विदेशवाट आउने पैसा रेमिट्यान्समा निर्भर छ ।  ज्ञानेन्दबहादुर कार्की अर्थमन्त्री हुँदा पनि यही अवस्था थियो ।  अहिले पनि यही यर्थाथ हो । कोरोना प्रकोप हुँदा पनि रेमिट्यान्स खासै घटेन यही पैसाले गर्दा अर्थतन्त्र समान्य देखिएको मात्र हो ।  डा. खतिवडाले यताउता गरेर भए पनि उच्च आर्थिक वृद्धि आफ्नो कार्यकालमा भएको देखाउने प्रयास नगरेका होइनन् । तर, कोरोनाभाइरसले यो उद्देश्य पनि पूरा हुन दिएन ।

    आर्थिक क्षेत्रमा उदार हुनु भनेको नाङ्गो हुनु होइन भन्ने भुत उनीमा थियो । यही भुतले डा. खतिवडालाई सफल हुन दिएन ।  बिदाइ कार्यक्रममामात्र आर्थिक सुधार भन्ने शब्द निकाले । अर्थमन्त्रीमा म सर्वज्ञाता हुँ भन्ने सोच्दा उनी आफैं लट्पटिए । कर्मचारीले स्वभावअनुसार मन्त्रीसँग स्वर मिलाएर उनलाई असफल बनाइदिए ।
    आफ्नै पार्टीका मान्छेहरुसँग न उनले सुझाव लिए न उनीहरु दिए  ।

    गाडीमा भन्सार र कर सामान्य आम्दानी हुनेले गाडी किन्नै नसक्ने थियो त्यसमा डा. खतिवडाले अझ बढाइदिए । कोरोनाको समयमा निजी क्षेत्रले राहत खोजिरहेको थियो । तर, खतिवडा यसमा पनि उदार हुन सकेनन् । पर्यटन क्षेत्रले जीडीपीमा ३–४ प्रतिशत योगदान दिन्छ कोरोनाले समग्र अर्थतन्त्रमा केही गर्दैन भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिए । यदि यस्तो हुन्थ्यो भने जीडीपी दुई प्रतिशतमा झर्ने थिएन । अहिले पर्यटक नहुँदा होटल रेष्टुरेष्ट बन्द भएकाले हजारौं बेरोजगार भएका छन् ।

    ऋणको पासोमा फस्दै गएका व्यवसायीलाई सरकारले कुनै राहत दिन सकेको छैन ।  मिडिया हाउसदेखि ठमेलका पसलसम्म संकटमा छन् । राहत पाएको भए यो संकट केही कम हुन्थ्यो । अर्थमन्त्रीले यो मर्म बुझ्नै सकेनन् ।  सेयरबजारले डा. खतिवडालाई पटक–पटक आर्थिक सुधारमा लाग्न संकेत दिइरहेको थियो ।
    तर, खतिवडाले यसलाई बेवास्ता गरे । यसअघि नेपाली कांग्रेसका अर्थमन्त्री महेश आचार्य र डा. रामशरण महतले आर्थिक सुधारका कार्यक्रम ल्याएका थिए ।

    पहिलो र दोस्रो चरणको आर्थिक सुधार भनेर नाम पनि दिइएको थियो ।  यसपटक कम्युनिष्टको दुईतिहाई बहुमतको सरकार थियो, प्रधानमन्त्री केपी ओली उदार विचारका थिए अर्थमन्त्रीलाई पूर्णविश्वास गरेका थिए ।  यो अवसरलाई उपयोग गर्दै संरचनात्मक आर्थिक सुधारको प्याकेज ल्याउन सक्नुपर्थ्यो । जसले देशको परनिर्भर अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सकोस् ।

    विगतमा कम्युनिष्ट सरकारले यस्तो कार्यक्रम ल्याएको पनि थियो । कम्युनिष्ट सरकारका पहिलो अर्थमन्त्री भरतमोहन अधिकारीले आफ्नो गाउँ आपैm बनाउँ, वृद्धभत्ताजस्ता दुरगामी असर पार्ने कार्यक्रम ल्याएका थिए ।  त्यसले तत्कालीन एमालेको साख पनि बढाएको थियो ।  डा. खतिवडाबाट धेरैले कम्युनिष्ट सरकारको परिष्कृत संरचनात्मक आर्थिक सुधारका कार्यक्रमको आशा गरेका थिए । तर खतिवडाले त्यो क्षमता देखाउन सकेनन् । सार्वजनिक संस्थानको निजीकरण वा सुधार लथालिङ्ग छाडिएको छ ।

    छरितो सरकार होइन । सरकारको आकार बढेको छ । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम असफल भएको छ । बलियो सरकार हुँदा पनि लक्ष्यअनुसार विकास खर्च हुन सकेन ।  बजेटमा आएका कयौं कार्यक्रम समयमा पूरा भएनन् । छुट्याइएको बजेट पनि खर्च हुन सकेन ।  राजश्वको लक्ष्य पूरा भएन । निर्यात व्यापार कम हुँदा व्यापार घाटा उच्च छ ।

    राजस्वको लक्ष्य पनि नपुग्ने, विकास खर्च पनि लक्ष्यअनुसार नहुने तर, जीडीपी बढ्छ भन्नु मिल्दो थिएन ।  डा. खतिवडाको कार्यकाल त्यसरी नै चलिरहेको थियो । निजी क्षेत्र अर्थमन्त्रीको विरोधमा उत्रिएको थिएन तर, खुसी पनि थिएन । निजी क्षेत्रभित्र त्रास थियो । महंगो गाडी चढ्नेलाई किन राहत दिनुप¥यो भन्नेजस्ता अभद्र टिप्पणी समेत उनले गरे ।

    करिब ६ महिनाअघि नै मन्त्रिमण्डल फेरबदल हुँदा प्रधानमन्त्रीले डा. खतिवडाको विकल्पमा सत्तारुढ पार्टी भित्रैबाट सुरेन्द्र पाण्डे वा अरु कोहीलाई अर्थमन्त्री बनाए हुन्थ्यो भन्नेहरु कयौं थिए ।  यति हुँदा पनि प्रधानमन्त्रीले डा. खतिवडालाई थप ६ महिना टिकाए र बजेट ल्याउने मौका दिए । तर, अहिले डा. खतिवडा काममा सफल हुन नसक्दा वामदेवको अडानले प्रधानमन्त्रीलाई समेत पल्टाइदियो ।

    डा. खतिवडाले विगतमा मिठो बोलेर विद्यार्थी र स्रोतालाई आकर्षित त गरेका थिए ।  राष्ट्रबैंकको गभर्नर भए, योजना आयोगमा सदस्यदेखि उपाध्यक्ष भए ।  जिल्लामा गएर राजनीति नगरे पनि अर्थमन्त्री जस्तो महत्वपूर्ण पदमा पुगे तर, व्यवहारमा काम गरेर देखाउन सकेनन् । उनको अनुभव र उनीसँग सुरूमा राखिएको आशा कायम रहन सकेन ।

    प्रतिक्रिया