Pura Samachar

श्रीलंकाले तेस्रो ओडिआई खेलमा अष्ट्रेलियामाथि ६ विकेटको सानदार जित हात

प्रकाशित: June 20, 2022
पूरा समाचार

श्रीलंकाले तेस्रो ओडिआई खेलमा अष्ट्रेलियामाथि ६ विकेटको सानदार जित हात

एजेन्सी – ओपनर पाथुम निस्सानकाको उत्कृष्ट शतकमा श्रीलंकाले तेस्रो ओडिआई खेलमा अष्ट्रेलियामाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै पाँच ओडिआई खेलमा श्रीलंकाले २–१ को अग्रता लिएको छ ।जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली श्रीलंकाले ४८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा ओपनर पाथुम निस्सानकाले १ सय ४७ बलमा ११ चौका र २ छक्कासहित १ सय ३७ रनको अविजित शतकीय इनिङ खेले । यो उनको ओडिआई करिअरको पहिलो शतक हो ।

कुशल मेन्डिस ८५ बलमा ८ चौकासहित ८७ रनमा रिटायर्ट हर्ट भए । दोस्रो विकेटका लागि कुशल र पाथुमले १ सय ७० रनको सानदार शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । ओपनर निरोशन डिक्कवेला र धनन्जय डि सिल्भा २५–२५ रनमा आउट भए । चरिथ असलंका १३ रनमा अविजित रहे । अष्ट्रेलियाका झेय रिचर्ड्सनले सर्वाधिक दुई विकेट लिए । जोश हेजलवुड र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए ।

त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । अष्ट्रेलियाका ट्रविस हेडले ६५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ७० रनको अविजित इनिङ खेले ।

कप्तान आरोन फिन्चले ८५ बलमा ४ चौका र १ छक्कासहित ६२ रन बनाए । ओपनर डेविड वार्नर ९, मिचेल मार्श १०, मार्नस लाबुसेन २९ र एलेक्स केरी ४९ रनमा आउट भए । ग्लेन म्याक्सवेल १८ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । क्यामसन ग्रिन १५ रनमा अविजित रहे ।

श्रीलंका स्पिनर जेफ्री वान्डरसेले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । पहिलो ओडिआई खेलमा अष्ट्रेलिया डकवर्थ लेविस पद्धतिको आधारमा दुई विकेटले विजयी भएको थियो । दोस्रो खेलमा २६ रनले पराजित भएको थियो । चौथो खेल मंगलबार र पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया