काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी र पालिटब्यूरोको बैठक बस्ने भएको छ ।
आगामी असार १० र ११ गतेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकमा गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । खतिवडाका अनुसार १० गते पोलिटब्यूरो र ११ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको हो ।
बैठकले आगामी संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारे पनि छलफल गर्नेछ । प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन आवश्यक रणनीतिबारे छलफल हुने उहाँले बताउनुभयो । बैठकले यसअघि बसेको स्थायी कमिटीको बैठकका निर्णय अनुमोदन गर्नेछ ।
त्यस्तै, १३ र १४ गते केन्द्रीय परिषदको बैठक बस्नेछ । परिषदको बैठकमा देशभरका प्रत्येक निर्वाचित क्षेत्रबाट एकजना महिला र पुरुषको सहभागिता हुने खतिवडाले बताउनुभयो । बैठकमा देशभरबाट ५ सय बढी प्रतिनिधि उपस्थित हुनेछन् ।
प्रतिक्रिया